काठमाडाैं ।
ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई सर्वोच्च अदालतको आदेशपछि जेल पठाइएको छ।
ब्रासिलियास्थित आफ्नै घरबाट पक्राउ परेका बोल्सोनारो २७ वर्षको सजाय भुक्तान गर्न जेल चलान भएका हुन्। स्वास्थ्य समस्याका कारण उनी घरमै नजरबन्दमा राखिएका थिए, तर एंकल मोनिटर’ हटाउने प्रयास गरेको स्वीकारेपछि सर्वोच्च अदालतले घरमै सजाय काट्ने अनुमति खारेज गरिदिएको हो।
२०२२ को निर्वाचनमा पराजयपछि शासन उल्ट्याउने, सर्वोच्च अदालत विघटन गर्ने तथा निर्वाचित राष्ट्रपति लुला दा सिल्भामाथि हमला गर्ने योजना बनाएको अभियोग प्रमाणित भएपछि उनी गत सेप्टेम्बरमै दोषी ठहर भएका थिए। विश्लेषकहरूका अनुसार स्वास्थ्य अवस्थाका कारण बोल्सोनारोले पुनः घरमै सजाय काट्न अनुमति पाउने सम्भावना छ।
ब्राजिलमा पूर्वराष्ट्रपतिलाई जेल सजायको घटना नयाँ होइन। लुला दा सिल्भा २०१७ मा ५८० दिन जेल बसेका थिए भने पूर्वराष्ट्रपति फर्नान्डो कोल्लोर पनि यसै वर्ष सजायपछि एक हप्तामै घरमै नजरबन्दमा सारिएका थिए। बोल्सोनारो जेल चलानसँगै आगामी राष्ट्रपतीय चुनावमा सहभागी हुने सम्भावना समाप्त भएको छ, तर उनी दक्षिणपन्थी राजनीतिमा अझै प्रभावशाली मानिन्छन्।





प्रतिक्रिया दिनुहोस्