काठमाडाैं ।
नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनको प्रतिनिधि छनोटका लागि पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ । विभागले हिजो साँझ भर्चुअल बैठकमार्फत निर्णय गर्दै पाँच बुँदे निर्देशन जारी गरेको हो ।
विभागका प्रमुख काशीनथ अधिकारीका अनुसार प्रतिनिधि छनोटका लागि निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूचि अनिवार्यरुपमा प्रकाशन गर्नुपर्नेछ । यसैगरी कायम भएको अन्तिम मतदाता सूचिको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ ।
१२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न पनि निर्देशन खिईएको छ ।
निर्देशनअनुसार कुनै पनि बहानामा १३ गते गर्नु पर्ने प्रतिनिधि छनोटको कार्यक्रमलाई सार्न पाइने छैन । प्रतिनिधिमा उम्मेद्वारी शुल्क बढीमा १ हजार रुपैयाँ भन्दा बढी नलिन पनि निर्देशन गरिएको छ ।
प्रतिनिधि छनौटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेताहरूलाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनोट प्रक्रियामा सहजिकरण गर्न पनि भनिएको छ । मंसिर २७ देखि २९ गते काठमाडौँमा हुने एमालेको ११ औँ महाधिवेशनका लागि करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् ।





प्रतिक्रिया दिनुहोस्