एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाका सबै अभिव्यक्तिहरू सञ्चारमाध्यमहरू (मुद्रण, टीभी, अनलाइन) मा प्रकाशन तथा प्रशारण नगर्न कडा चेतावनी दिएको छ ।
राष्ट्रिय सुरक्षाको कारण देखाउँदै बंगलादेश राष्ट्रिय साइबर सुरक्षा संस्थाले विज्ञप्ति जारी गरी हसिनालाई ‘दोषी र भगौडा’ घोषित गरेको हो । सरकारले उनका भनाइले देशमा हिंसा, अशान्ति र सामाजिक सद्भाव भड्काउन सक्ने चेतावनी दिएको छ ।
अन्तरिम सरकारले हसिना र पूर्वगृह मन्त्री असदुज्जमान खान कमाललाई देश फर्काउन इन्टरपोलको मद्दत लिने तयारी गरेको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका अभियोजकले फैसलाको प्रतिलिपि र गिरफ्तारी वारेन्ट इन्टरपोलमा पठाउने प्रक्रिया सुरु भएको बताएका छन् ।
यसैबीच, हसिनालाई मृत्युदण्ड दिइएको फैसलाको विरुद्धमा उहाँकै प्रतिबन्धित पार्टी आवामी लिगले आज देशव्यापी बन्दको आयोजना गरेको छ । पार्टीले ढाकाको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसला खारेज गर्दै अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुससहित मन्त्रीहरूको तत्काल राजीनामाको माग गरेको छ ।
आवामी लिगका नेता जहाँगिर कबिर नानकले यो फैसला ‘पक्षपातपूर्ण र राजनीतिक प्रतिशोध’ भएको आरोप लगाउँदै अदालतको प्रक्रियामाथि प्रश्न उठाएका छन् ।




प्रतिक्रिया दिनुहोस्