Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


जेनजी आन्दोलनका क्रममा भएको तोड्फोड र आगजनीका कारण निजी क्षेत्रमा ३६ अर्बको क्षति: अर्थमन्त्री खनाल

घरजग्गा व्यवसायमा देखिएको समस्यालाई पनि समाधान गर्ने प्रयास

247
Shares

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले जेनजी युवाकाे आन्दोलनका क्रममा भएको तोड्फोड र आगजनीका कारण निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्यांकन प्राप्त भएको बताउनुभएकाे छ।

काठमाडौंमा आइतबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै अर्थमन्त्री खनालले यस्ताे बताउनुभएकाे हाे। उहाँले जेनजी आन्दोलनका क्रममा ५५ जिल्लामा १ हजार ९ सय ५७ इकाइमा क्षति भएको बताउनुभयाे। जसमध्ये निजी क्षेत्रको ४ सय १९ संरचनामा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्यांकन प्राप्त भएको उहाँले जानकारी गराउनुभएकाे छ।

निजी क्षेत्रमा भएको क्षति मध्ये करिब २३ अर्बको बिमा दावी भएको समेत उहाँले बताउनुभयाे। अर्थमन्त्री खनालले सरकार र व्यवसायीबीचमा विश्वासको वातावरण बनाएर अघि बढ्ने भन्दै निजी क्षेत्रलाई नियन्त्रणमूखी प्रणाली नबनाइने प्रस्ट पार्नुभएकाे छ। उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन अनुसार नै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने उहाँको भनाइ थियाे।

अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न पूँजी बजार र घरजग्गा व्यवसायलाई चलायमान बनाउनुपर्नेमा उहाँकाे जाेड छ। घरजग्गा व्यवसायमा देखिएको समस्यालाई पनि समाधान गर्ने प्रयासमा रहेको मन्त्री खनालले जानकारी गराउनुभयाे।