कैलाली। कैलालीको धनगढीका जेनजी युवाकाे आन्दोलनमा शहीद गौरव जोशीको परिवार यतिबेला असहाय बनेको छ।
कक्षा १२ सकेर विदेश जानका लागि भाषा कक्षा पढन काठमाडौं बस्दै आएका गौरव जेनजी आन्दोलनका क्रममा कहिल्यै कैलाली नफर्किने गरी अस्ताउनुभएकाे थियाे । घरको एक मात्र छोरा आन्दोलनमा गुमाएको परिवार अहिले पनि विक्षिप्त अवस्थामा छ। देश परिवर्तनका लागि छोराले दिएको बलिदान सम्झेर सम्हालिएको परिवार जेनजी आन्दोलनको उपलब्धि गुम्ने त्रासमा देखिन्छ।
गौरव कैलालीको धनगढीस्थित ऐश्वर्य विद्या निकेतनबाट कक्षा १२ पास भएर काठमाडौं जानुभयो । बेलायत पढन जानका लागि भाषा सिक्दै गर्नुभएका गौरव देशमा सुशासनको माग गर्दै गत भदौ २३ गते भएको आन्दालनमा सरिक हुनुभयो।बिहान भाषा कक्षा जान्छु भनेर कोटेश्वरस्थित डेराबाट निस्किनु भएका गौरव सोही बाटो आन्दोलनमा गएको परिवारले भने पत्तो नै पाएन । देशमा विधीको शासन माग गर्दै भएको आन्दोलनमा उहाँले सक्रिय सहभागीता जनाउनुभयो । जेनजी पुस्ताका माग पूरा नभएसम्म आन्दोलन नरोकिने विभिन्न मिडियामा अभिव्यक्ति पनि दिनुभयो।
गौरव अन्य साथीलाई हौशला र प्ररणा दिँदै अग्रमोर्चामा रहेर आन्दोलनमा सहभागी हुँदै गर्दा प्रहरीको निशानामा पर्नुभयो । बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर उहाँ सदाका लागि अस्ताउनुभयो । जेनजी आन्दोलनमा शहीद बन्नुभएका गौरव घरको एक्लो छोरा हुनुहुन्थ्यो। विधिको शासन माग्दा प्रहरीको गोली लागेर छोराको मृत्युभएपछि परिवार विक्षिप्त छ। घरको एक मात्र छोरा गुमाएको परिवार अहिले सहारा विहीन बनेको छ।
छोराले आफूहरुलाई छोडेर गएता पनि देशका लागि दिएको बलिदान सम्झेर परिवारलाई सम्झाउने प्रयास गरिरहेको उहाँका बुबा वासुदेव जोशीले बताउनुभयाे। बुढेसकालमा सहारा दिने खाँबो नै ढल्दा जोशी परिवार र आफन्त शोकमा डुबेका छ। छोरा घर फर्केर आउने आशामा बसेको परिवार अहिले शून्य बनेको छ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका गौरव लगायतका शहीदका सपना पूरा गर्नका लागि त्यहीं अनुसार अबका दिनमा जानुपर्ने गाैरवलाई पढाउनु भएका प्राध्यापक तथा नागरिक समाजका अगुवा कमलराज जोशीको भनाइ छ।
देशको लागि सहादत प्राप्त गरेका ४५ शहीदका रगतको बलमा केपी ओली नेतृत्वको सरकार अपदस्त भयो। सुशिला कार्की नेतृत्वमा नागरिक सरकार गठन भएको छ। सरकारले शहीद र घाइते परिवारका लागि विभिन्न योजना सार्वजनिक गरेता पनि त्यसको प्रभावकारितामा शहीद परिवार चिन्तित देखिन्छ। जेनजी आन्दोलनलाई इतिहासको स्वर्णिम पल बनाउनका लागि अहिलेको सरकारले विधिको शासन स्थापना सँगै शहीद परिवारलाई पनि उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
भिडियाे रिपोर्ट:





प्रतिक्रिया दिनुहोस्