Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


राजु पाण्डेको निलम्बन, उच्च अदालतद्वारा रिट खारेज


6.3k
Shares

काठमाडौं ।
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न भनी जारी गरेको आदेश खारेज गरेको छ ।

न्यायाधीशहरू डालकुमार खड्का र दिपक खनालको इजलासले नगर प्रहरी बलका प्रमुख पाण्डेको रिट निवेदन खारेज गरेको हो ।

निवेदन खारेज भएसँगै पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकिय अधिकृतको निर्णय कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश समेत निष्कृय भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अनियमितताको आरोप लगाउदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यकक्षमा प्रवेश गर्न रोक लगाउनुभएको थियो ।

गुरागाईंको साटो अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन बालेनले गरेको आग्रहलाई तत्कालिन सरकारले अस्वीकार गर्दै आएको थियो । उपमेयर सुनिता डंगोल र अरु वडाध्यक्षहरुको सहयोगमा गुरागाई आफ्नो कार्यकक्षमा जानु भएको थियो । त्यसक्रममा नगर प्रहरी बल र गुरागाई पक्षधरबीच घम्साघम्सी भएको थियो ।

आफ्नो कार्यकक्षमा पुगेर काम थालेपछि प्रमुख प्रशासकिय अधिकृत गुरागाईंले पदीय आचरण विपरीत काम गरेको भनी नगर प्रहरी बलका प्रमुख पाण्डेलाई निलम्बन गर्नुभएको थियो ।

आफूलाई गैरकानूनी रुपमा निलम्बन गरेको भनी पाण्डेले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गर्नुभएको थियो । त्यही निवेदनमा उच्च अदालतले अन्तरिम आदेश दिएपछि उहाँ काममा फर्किनुभएको थियो ।