Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


सरकारले निर्वाचन गराउने जोश र जाँगर देखाएको छैनः मीन विश्वकर्मा

सरकारले शान्ति, सुरक्षा र निष्पक्ष वातावरण निर्माणमा आवश्यक चासो नदेखाएको आरोप

182
Shares

काठमाडाैं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले निर्वाचन गराउने जोश र जाँगर देखाउन नसकेको टिप्पणी गर्नुभएको छ।

निर्वाचन आयोगले बिहीबार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । निर्वाचन आयोग र राष्ट्रपतिबाट दलहरूलाई बोलाएर गरिएको परामर्शमा मुख्य दलहरूले निर्वाचनमा भाग लिने प्रतिवद्धता जनाए पनि सरकारले शान्ति, सुरक्षा र निष्पक्ष वातावरण निर्माणमा आवश्यक चासो नदेखाएको उहाँको आरोप छ ।

प्रमुख विश्वकर्माले मुख्य राजनीतिक दलहरु निर्वाचनमा भाग लिन तयार भएपनि विद्यमान राजनीतिक र कानूनी विषयहरु किनारा लाग्नुपर्ने बताउनुभयो। उहाँले सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको निर्णय कुरेर मात्र निर्वाचनमा सहभागि हुने संकेत गर्नुभएकाे छ। संविधानलाई मूल बाटोमा ल्याउने एकमात्र उपाय निर्वाचन भएको पनि उहाँको भनाइ थियाे।

निर्वाचन सम्पन्न गर्नको लागि सरकारले गर्नुपर्ने शान्ति सुरक्षा, भयरहित वातावरण निर्माण र निष्पक्षता कायम गर्नको ठोस काम गर्न नसकिरहेको प्रमुख विश्वकर्माले बताउनुभयाे।