Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


१३५ गोताखोर, ३९ सय जना विपद व्यवस्थापन तालिम प्राप्त जनशक्ति परिचालन: सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी


923
Shares

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज विपद उद्धारमा परिचालन गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै फौज विपद उद्धारमा परिचालन गरेको बताउनुभएकाे हाे । जल तथा मौसम विज्ञान विभागले एक हप्ता अगावै पूर्वानुमान गरे अनुरुप सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको समेत उहाँले बताउनुभयाे। सोही अनुसार काम गरेको पनि उहाँको भनाइ छ। मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ अन्तर्गत रहेर सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण जनशक्तिहरुलाई स्ट्याण्डबाइ राखिएको उहाँले जानकारी दिनुभयो।

कुल नेपालभरी ७ हजार ६ सय १५ जनशक्तिलाई तयारी अवस्थामा राखेको पनि उहाँले बताउनुभएकाे छ। जसमा १ सय ३५ जना गोताखोर र ३ हजार ९ सय जना विपद व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेको उहाँले बतउनुभयो । देशका विभिन्न स्थानमा ३३ वटा मोटरबोट, ९६ वटा र्याफ्टिङ बोट गरी १ सय २९ वटा बोटलाई विपदकाे इलाकामा तैनाथी गरिएको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले बताउनुभएकाे छ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले १ लाख ६८ हजार ६ सय ९५ जना विपद सूचकहरुलाई पनि विपद व्यवस्थापनमा समन्वय गरेको बताउनुभयो । ९ सय ९० जना तालिम प्राप्त समुदाय विपद स्वयंसेवकहरुसँग पनि समन्वयात्मक रुपमा काम गरेको पनि उहाँले बताउनुभयो । काठमाडौं, रौतहट, झापा र इलाममा काम उद्धारको काम गरिरहेको बताउनुभयो ।

काठमाडौंको बल्खुस्थित बागमती आसपासमा बसोवास गर्ने सय जनासुकुम्वासीहरुलाई जनविकास मा.वि. बल्खुमा स्थानान्तरण गरिएको उहाँकाे भनाइ छ। रौतहट गजुरा नगरपालिका-५ हरिपुरमा डुबानमा रहेका १९ घरधुरीका ७५ जनालाई स्थानीय जागृति आधारभूत माविमा स्थानान्तरण गरिएको बताउनुभयो । झापाको झापा गाउँपालिकामा ५१ घरमा पानी पसेकोले कुमारी माविमा स्थानान्तरण गरिएको समेत उहााले बताउनुभएकाे छ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले झापाको गौरीगञ्जस्थित झोराबस्तीमा १ सय ५ घरमा पानी पसेकाले उक्त घरमा बसोबास गर्ने मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो । १८ गतेदेखि विपद उद्धारमा सशस्त्र प्रहरी बल र नेपालका विभिन्न युनिटहरुबाट ९ हजार ३ सय ४६ जना परिचालन भएको उहाँकाे भनाइ छ।

इलामको इलाम नगरपालिका, माङ्सिबुङ गाउँपालिका र सूर्योदय नगरपालिकामा गरी १ सय ६० जना शसस्त्र प्रहरी कर्मचारीहरु विपद उद्धारमा परिचालन भएको उहाँले बताउनुभयो ।