
काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको बहाव तीव्र रुपमा बढेसँगै बल्खु र विष्णुमती दोभान क्षेत्र डुबानमा परेको छ।
पानीको सतह अलर्ट अवस्थामा पुगेपछि बल्खु तरकारी बजार खाली गराइएको हाे । नदी किनारका सुकुमबासी बस्तीहरूबाट पनि स्थानीयलाई हटाइएको सशस्त्र प्रहरीले बताएकाे छ। त्यसैगरी बल्खु–कुलेश्वर क्षेत्रमा बागमती खोलाको पानी बस्तीभित्र पस्दा करिब १ सय सुकुमबासी घरधुरीलाई तत्कालै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले बताएकाे हाे । प्रभावितहरूलाई जनविकास माध्यमिक विद्यालय, बल्खुमा अस्थायी रूपमा राखिएको छ।
स्थानीय प्रशासनका अनुसार शनिबार दिउँसोदेखि नै बागमती, विष्णुमती र बल्खु खोलाको दोभान क्षेत्र वरिपरि जलस्तर तीव्र रूपमा बढेको छ। बागमती र विष्णुमती किनारमा डुबान बढ्दै गएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र काठमाडाैं महानगरपालिकाका टोलीले उद्धार तथा सतर्कता कार्य सञ्चालन गरिरहेका हुन्।
हालसम्म कुनै मानवीय क्षतिको जानकारी आएकाे छैन । तर अविरल वर्षा जारी रहेकाले थप जोखिम कायमै रहेकाे छ।
प्रतिक्रिया दिनुहोस्