Logo १८ आश्विन २०८२, शनिबार | Sat Oct 4 2025


विपद व्यवस्थापन र उद्धारका लागि सशस्त्र प्रहरीका साढे २६ सय जनशक्ति परिचालन


637
Shares

काठमाडाैं । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद व्यवस्थापन र उद्धारका लागि २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ।

शनिबार बिहानदेखि शुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न २६ सय बढी जनशक्ति खटाएको हो । सिंहदरबारमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सशस्त्र प्रहरी बलका नायव उपरीक्षक लक्ष्मण बस्नेतले ३ सय ३२ स्थानमा २ हजार ६ सय ६१ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटाएको बताउनुभयो। विभिन्न नदी तटीय क्षेत्र, राजमार्ग र समुदायमा गएर माइकिङ गर्ने सचेतनाका लागिदेखि उद्धारका सामग्रीसहित परिचालन भइरहेको उहाँले जानकारी दिनुभएकाे छ।

नायव उपरीक्षक बस्नेतले हालसम्म कुनैपनि गम्भीर किसिमको घटनाको सूचना प्राप्त नरहेको बताउनुभयो । ५० मिटर जति नदीले सडक कटान गरेको ठाउँमा बाँसहरु लगाएर बोराहरु हाल्ने काम भएको उहाँकाे भनाइ छ। उहाँले १ सय २९ वटा र्याफ्टिङहरु कोशी, गण्डकी, बागमती प्रदेशहरुमा र मधेश प्रदेशमा परिचालन गरिएको पनि बताउनुभयो । उद्धार टोली र एम्बुलेन्सहरु सबै स्ट्याण्डबाइ राखिएको उहाँकाे भनाइ छ।

नायव उपरीक्षक बस्नेतले ६७ जिल्लाका विभिन्न स्थानहरुमा माइकिङ गरेर सचेत रहनका लागि अनुरोध गरिरहेको जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत मनसुन सचेतनाका लागि सामग्रीहरु पठाएर सतर्क पारिएको बताउनुभएकाे छ। उहाँले ३ हजार ६ सय ३६ जना विपद व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई अहिलेको अवस्थामा विभिन्न उपकरणसँगै उद्धारमा जुट्न तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभयो ।

नायव उपरीक्षक बस्नेतले हिमाली क्षेत्रमा पुगेका पर्यटकलाई हिमपात हुनसक्ने पूर्वानुमानअनुसार सुरक्षित स्थानमा फर्किन आग्रह गरिएको बताउनुभयो ।