Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


पायःद्यो र तलेजुको बाहन सेता घोडा जात्रा सम्पन्न


260
Shares

काठमाडौं । भक्तपुरमा बडा दशैंको दिन मध्यरातिदेखि शुरु भएको पायःद्यो अर्थात खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा सम्पन्न भएको छ ।

एकादशीको दिन शुक्रबार बिहान पायःद्यो जात्राका क्रममा तलेजु भवानीको साक्षात रूप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याइ जात्रा मनाउने परम्परा रहेको हाे । खड्ग जात्राका क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेकोचोक पुगेपछि पूजा र दर्शन गर्न दिने परम्परा रहेको छ ।

बडा दशैंको दिनभरी ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रह्मायणीबाट राति भक्तपुरको विभिन्न टोल घुमेर जात्रा गर्दै दरबारस्क्वायर आएपछि बहिनी ब्रह्मायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरी मन्त्रसिद्धि गरिने परम्परा अनुसार जात्रा सम्पन्न हुने गरेको छ ।

नेपाली सेनाले पायःद्योलाई आफ्नो काँधमा बोकेर नगर परिक्रमा गर्दा सुरक्षा दिएको थियो ।