Logo २० आश्विन २०८२, सोमबार | Tue Oct 7 2025


सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह भव्य रूपमा सम्पन्न


455
Shares

काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा साेमबार ‘फूलपाती बढाइँ समारोह–२०८२’ भव्य रुपमा सम्पन्न गरिएको छ ।

साेही समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको हाे । समारोहमा सेनाको टोलीले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गरेको छ। समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकाेप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको हाे।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र मन्त्रिगण लगायतका विशिष्ट व्यक्तित्वकाे उपस्थिति रहेकाे थियाे । फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ ।

नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन समेत रहेकाे छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दशैं घरमा साइत जुराएर भित्र्यासँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा रहेकाे हाे । बडा दशैंकाे सप्तमी अर्थात फूलपातीका दिन सेनाले प्रत्येक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहकाबीच फूलपाती बढाइँ गर्दै आएको छ ।