Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


शेयर बजार अब कता ?

बढेकै हो त लगानीकर्ताको विश्वास ?

494
Shares

रमेश ढकाल

काठमाडाैं । अर्थ मन्त्रालयको सकारात्मक पहलसँगै तर्सिएका शेयर लगानीकर्तामा फेरी उत्साह थपिएकाे छ।

लामो समयदेखि उत्साहिन अवस्थाबाट गुज्रिरहेको शेयर बजार जेनजी आन्दोलनपछि थप त्रसित बन्यो । एक हप्ता बन्द भएर खुलेको बजारमा ठूलो पहिरो समेत गयो । तर अर्थ मन्त्रालयको सकारात्मक पहलसँगै बजार पुनः आफ्नै लयमा फर्किने संकेत गरेको छ ।

जेनजी आन्दोलन पछि त शेयर बजारका लगानीकर्ता यति त्रसित भएकी केही समय त कारोबार खोल्ने आँटै गर्न सकेनन् । उसैपनि ओरालो लागिरहेको बजारमा थप गुमाउनुपर्ने त्राससँगै लगानीकर्ताकै आग्रहमा केही दिन कारोबार रोकियो । उसै पनि ठूल्ठूला दैवी प्रकोप वा आकस्मिक घटनाहरुले शेयर बजार पनि प्रभावित हुने गर्दछ । सुशासनको मागसहित उठेको युवाको आन्दोलनले सत्ता मात्रै उलपलट गरिदिएन, मुलुकमा थुप्रै भौतिक क्षति समेत पुर्यायो । निजी क्षेत्रमा मात्र ८० अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

२५ अर्ब बढीको बीमा दावी परेको छ । यसको असर बजारमा पर्ने त्रास लगानीकर्तामा थियो । भयो पनि त्यस्तै । आन्दोलन पछिको पहिलो कारोबारको दिन गत बिहीबार शेयर बजारमा डेढ सय अंक बढीको पहिरो गयो । एकै दिन लगानीकर्ताले अर्बाैं गुमाए । त्यसपछिका दुई दिन उसैगरी उकालो लागेर त्यो घाटा पूर्तिसँगै निर्जीवन बीमा समूह समेत बौरिएको छ । लगानीकर्ता के उत्साहितै भएका हुन् त ? कालो बादलमा चाँदीको घेरा हुन्छ भने झैं अन्तरिम सरकारको अर्थमन्त्रीमा रामेश्वर खनाल आउँदा शेयर लगानीकर्ताका साथै सिंगो आर्थिक क्षेत्रमा पक्कै आशाको सञ्चार भएकै छ ।

अर्थ सचिव समेत रहिसक्नु भएका अनुभवी एवं इमानदार छविका खनालले आर्थिक क्षेत्रलाई पक्कै सही दिशा दिनसक्नुहुन्छ भन्ने विश्वास आर्थिक क्षेत्रमा छ । अझै रोचक त के छ भने अघिल्लो सरकारले अर्थतन्त्र सुधारका लागि सुझाव दिन गठन गरेको सुझाव आयोगकै संयोजक रहनु भएका खनाल आफ्नै प्रतिवेदन कार्यान्वयनको जिम्मेदारीमा पुग्नुभएको छ । आयोगले समग्र अर्थतन्त्रसँगै शेयर बजार सुधारका लागि पनि दर्जन बढी सुझाव दिएको छ ।

आयोगले धितोपत्र व्यवसायीमार्फत मार्जिन कर्जा उपलब्ध गराउने, जलविद्युत कम्पनीलाई उत्पादन शुरु गरेपछि मात्रै प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्न दिने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने, सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार तुरुन्त शुरु गर्ने, बोर्डको कार्यक्षमता बढाउने, कारोबार शुल्कमा कटौती गर्नुपर्ने, नेपाल स्टक एक्सचेन्जको पुनसंरचना गर्नुपर्ने लगायतका सुझाव दिएको छ । बजारमा पहिरो गएलगत्तै अर्थमन्त्री खनालले धितोपत्र बोर्डका निर्देशकको संयोजकत्वमा ५ दिनभित्र सुझाव दिन भन्दै कार्यदल गठन गर्नुभयाे ।

जसले पनि लगानीकर्तामा केही उत्साह जगाएको हुनुपर्छ । अर्थतन्त्रको प्रभावले बजार प्रभावित भयो भन्ने हो भने पनि भूकम्प, नाकाबन्दी, कोभिड महामारी जस्ता विपदले अर्थतन्त्र प्रभावित भएकै बेला नेप्सेले अलटाइम हाइको रेकर्ड बनाएको इतिहास छ । शेयर बजारलाई अर्थतन्त्रको ब्यारोमिटर भन्ने गरे पनि नेपालमा बजार र अर्थतन्त्रबीच खासै त्यस्तो लय मिलेको पाइँदैन । कम्पनीका पर्फमेन्सका आधारमा बजार घट्यो भनौं भने बजारको दिशा र कम्पनीका उपलब्धि मिल्ने त के, कतिपय त पूरै उल्टो भएको पनि देखिएका छन् ।

अब्बल कम्पनी भन्दा कमजोर कम्पनीमा सकरात्मक सर्किट लाग्नु नेपाली शेयर बजारको विझाउने यथार्थ हो । अर्थतन्त्रमा केही सुधार आएकाे समयमा पनि नेप्सेले ३ हजार २ सयको नेटो काट्न सकेको छैन । लगानीकर्ताले चाहेका चाहीं के हो त ? नयाँ सरकारबाट लगानीकर्ताको अपेक्षा के छ ? अर्थतन्त्र भन्दा पूँजी बजार विशेष नीति र नियामकका कारण बजार उकासिन नसकेको क्यापिटल म्याक्स सेक्युरिटिजका अध्यक्ष अतितलाल श्रेष्ठको बुझाइ छ ।

अर्थमन्त्री खनालले बजारको समस्या बुझ्न कार्यदल बनाएसंगै लगानीकर्ता केही उत्साही त देखिएका छन् । तर सुझाव संकलन भन्दा अब सुझाव कार्यान्वनमा बढी पहल गर्दा बजारमा दीर्घकालीन सुधार आउने सरोकारवालाको ठम्याई छ ।