Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


कैलाली कारागारबाट फरार कैदीबन्दी धमाधम फर्किंदै


624
Shares

बिराज रोस्यारा

कैलाली । कैलाली कारागारबाट भागेका कैदीबन्दी धमाधम फर्किन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरु फर्किन थालेका हुन् । अधिकांश स्वस्फूर्त रुपमा कारागार फर्किएका छन् भने कतिपयलाई प्रहरीले पक्राउ गरेको छ।

जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार कैदीबन्दीहरू आत्मसमर्पण गर्दै कारागार फर्किन थालेका छन् । कैलाली जिल्ला कारागारका अनुसार सबै भन्दा बढी ६ सय ६७ कैदीबन्दीहरु रहेको जिल्ला कारगारामा २ सय कैदीबन्दीहरू कारागार फर्किएका हुन् ।

कैलाली मात्रै होईन सुदूरपश्चिम प्रदेशका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरु पनि फर्किने क्रम जारी रहेकाे छ । कारागार प्रशासनका अनुसार प्रदेशमा ६ कारागार र एक सुधार गृहबाट १ हजार ४ सय ५८ जना कैदीबन्दी भागेका थिए । उनीहरुमध्ये ६ सय बढी कैदीबन्दीहरु कारागार फर्किएका छन् ।

८ सय ५० जना बढी कैदीबन्दीहरु अझै फर्किएका छैनन् । फरार रहेकाहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । जिल्ला कारागारहरूले सार्वजनिक सूचना जारी गर्दै कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेपछि उनीहरु आफैं कारागार फर्किरहेका हुन् ।

कारागार प्रशासनले बाँकी फरार कैदीहरूलाई पनि आत्मसमर्पण गर्न अपिल गरेको छ । कैदीबन्दीहरू धमाधम फर्किन थालेसँगै कारागारमा सुरक्षा व्यवस्था कडा पारिएको हाे । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता निशान्त श्रीवास्तवले बताउनुभयाे ।

फरार कैदीबन्दी भारततर्फ जानसक्ने भन्दै सुरक्षा व्यवस्था चुस्त बनाउनुका साथै सतर्कता अपनाइएको प्रहरीले बताएकाे छ ।