Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


जेनजी आन्दोलन: बागमती प्रदेश सभा क्षतिग्रस्त, ३५ करोडकाे क्षति


195
Shares

काठमाडाैं । बागमती प्रदेशको राजधानी हेटौंडामा जेनजी आन्दोलनबाट प्रदेश सभा भवन पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।

प्रदेश सभाको हालै सञ्चालनमा ल्याइएको अस्थायी भवन र पुरानो भवन दुवै जेनजीको निशानामा परेको हाे । प्रदेश सभा भवन क्षतिग्रस्त हुदाँ ३० देखि ३५ करोड बराबरको क्षति भएको आँकलन गरिएको छ । हेटौंडामा रहेका अन्य सरकारी संरचना र मन्त्रालय तथा कार्यालयमध्ये सबै भन्दा ठूलो क्षति प्रदेश सभा भवनमै भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आगजनीबाट ५ वटा भवन, ३ वटा ४ पाँग्रेगाडी, ६ वटा दुई पाँग्रे मोटरसाइकल र कार्यालयका सबै जसो सामानमा क्षति पुगेको बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले बताउनुभयाे। भवनका ढोका, झ्याल, बैठक कक्ष र अभिलेख कोठा लगायतका महत्वपूर्ण संरचना ध्वस्त भएको जनाइएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको हाे ।

त्यस्तै, प्रदेश सभासँगै रहेका नेपाली कांग्रेस संसदीय दलको कार्यालय बाहेक अन्य संसदीय दलका कार्यालयमा आगजनी र तोड्फोड गरिएको छ । दलका अभिलेख, कागजात र उपकरणमा क्षति पुगेको प्रारम्भिक विवरण आएको हाे । आन्दोलनकै क्रममा प्रदेशसभाभित्र र वरपर रहेका सवारीसाधनमा पनि आगजनी गरी क्षति पुर्याइएको छ ।

१२ करोड २९ लाख लागतमा निर्माण गरिएको बागमती प्रदेश सभाको नयाँ भवन गत साउन २७ गते मात्रै औपचारिक रूपमा उद्घाटन गरिएको थियो। निर्माण शुरु भएको २०७७ साल मंसिर १० गते शिलान्यासबाट शुरु भई करिब ७ वर्षमा सम्पन्न भएको भवनमा जम्मा तीन वटा बैठकहरू मात्र सम्पन्न हुन पाएका थिए । तर आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीले भवनमा आगजनी गरेपछि भवन पूर्णरूपमा ध्वस्त भएको हो ।

भवन निर्माण गर्न करिब ७ वर्ष लागेको थियो । जेनजी आन्दोलनको पहिलो माग प्रदेशको खारेजी रहेको थियो । भवनमा व्यापक क्षति पुगेपछि प्रदेश सभा बैठक सञ्चालन गर्ने स्थानको अभाव सिर्जना भएको छ ।
बागमती प्रदेश सरकारले नयाँ भवन निर्माणका लागि आवश्यक बजेट अभावका कारण तत्कालीन अवस्थामा सभा सञ्चालनका लागि विकल्पको खोजी गरेको हाे ।

हालसम्म प्रदेशसभा भवन अन्तर्गत पार्किङका लागि प्रयोग हुँदै आएको जस्ताको टहरोलाई अस्थायी रूपमा बैठक स्थल बनाउने तयारी भइरहेको बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताउनुभएकाे छ। उहाँकाअनुसार क्षतिग्रस्त भवनको सुक्ष्म प्राविधिक अध्ययन भइरहेको र ईन्जिनियरको प्रतिवेदनको आधारमा मात्र मर्मत तथा पुनर्निर्माणको काम अघि बढाइने भएकाे हाे ।

विनियोजित बजेट नभएकाले संरचनाको पुनर्निर्माणका लागि समय लाग्ने प्रवक्ता गुप्ताले स्पष्ट पार्नुभएकाे छ।