Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


मुलुकलाई पुनःनिर्माण, राजनीतिक स्थिरता र समृद्धितर्फ अघि बढाउन कटिबद्ध छुः ऊर्जामन्त्री घिसिङ


286
Shares

काठमाडाैं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकलाई स्थायित्व र विकासतर्फ अघि बढाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।

सिंहदरबारमा साेमबार सम्बन्धित मन्त्रालयका कर्मचारीहरुसँगको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकलाई पुनःनिर्माण, राजनीतिक स्थिरता र समृद्धितर्फ अघि बढाउन आफू कटिवद्ध रहेको समेत बताउनुभयो ।

उहाँले जेनजी पुस्ताले अपनाएको हिंस्रक बाटो छोडेर समाधानतर्फ लाग्नुपर्नेमा समेत जोड दिनुभयो ।विगतका कमजोरीलाई नदोहो¥याउन आग्रह गर्दै जिम्मेवारी लिने संस्कृतिको विकास गर्न समेत सबैलाई उहाँले आग्रह गर्नुभएकाे छ।

उहाँले भन्नुभयो,-‘अब हिंसा होइन समाधान हाम्रो बाटो हो । हामीले जे गर्यौं त्यसलाई अब रोकौं । अब हामीले पुनः निर्माणतिर लाग्नुपर्ने हुन्छ । देशलाई एउटा समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेछ । राजनीतिक स्थिरता पनि ल्याउनुपर्नेछ । देश रहेमात्र हामी रहन्छौं । उडेर मात्रै हुँदैन अब सही अवतरण गर्नुपनि हाम्रो दायित्व हुनेछ । जिम्मेवारी लिने हो भाग्ने होइन । जिम्मेवारी लिएर अगाडि बढ्नुपर्छ । मुलुकलाई सही दिशामा अगाडि बढाउने काम तपाईहरुको सहयोगबिना सम्भव छैन ।’

यसअघि पदभार सम्हाल्दै मन्त्री घिसिङले डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गर्नुभयो । उहाँले आफू प्राधिकरणको कार्यकारी निर्देशक हुँदा वक्यौता असुल्ने प्रयास गर्नुभएको थियो । तर तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो ।