
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी एक गाउँमा बोको हरामका आतंकारीहरुले भीषण आक्रमण गरेका छन् ।
आक्रमणमा ६० जनाको ज्यान गएको छ । उनीहरूले नाइजेरिया–क्यामरुन सीमामा रहेको एक सैन्य अड्डामा आक्रमण गरी कम्तीमा पाँच सैनिकको पनि हत्या गरेका छन् । दारुल जमाल नाम गरेको गाउँमा यो हत्या भएको थियो ।
सरकारले सुरक्षाको आश्वासन दिएपछि हालसालै विस्थापित मानिसहरू शिविरबाट फर्केर आफ्नो घरमा बस्न थालेकोमा बोकोहरामका आतंककारीहरुले आक्रमण गरेका हुन् ।
नाइजेरियाली वायु सेनाका अनुसार आक्रमणको खबर पाएपछि गरिएको हवाई हमलामा ३० जना आतंककारी मारिएका छन् । बोर्नो राज्यका गभर्नर बाबागाना जुलुमले शनिबार साँझ आक्रमण भएको गाउँको भ्रमण गरी मृतकको संख्या ६० भन्दा बढी भएको पुष्टि गरेका हुन् ।
आतंककारीहरुले २० भन्दा बढी घर पनि जलाइदिएका छन् । आक्रमणपछि गाउलेहरु फेरि विस्थापित भएको समाचारमा जनाइएको छ ।
मुश्लिम आतंककारी समूह बोको हरामले सन् २००९ मा हतियार उठाएको थियो । त्यसपछि संघर्षमा करिब ३५ हजार मारिएका छन् भने २० लाखभन्दा बढी मानिस घरबारविहीन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्