Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


पूर्वाधार तयार हुँदा पनि राष्ट्रिय खेलकुदको आयोजना रोकियोः अध्यक्ष दाहाल


234
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले १०औं राष्ट्रिय खेलकुद आयोजनाका लागि सुर्खेत रंगशाला तयार भएपनि नयाँ सरकार आएपछि त्यसको आयोजना हुनबाट रोकेको आरोप लगाउनुभएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा शुक्रबार भएको अखिल नेपाल खेलकुद महासंघको चौथो राट्रिय सम्मेलनलाई सम्बाेधन गर्दै अध्यक्ष दाहालले यस्ताे बताउनुभएकाे हाे । रंगशालामा तयार भएको अवस्थामा नयाँ सरकार आउने बित्तिकै राष्ट्रिय खेलकुदको आयोजना हुन नदिएको उहाँकाे आराेप छ । माओवादीबाट आएका व्यक्ति खेलकुदमा रहेसम्म राष्ट्रिय खेलकुद गर्नु हुँदैन भन्ने धारणा हुँदा राष्ट्रिय खेलकुद आयोजना हुन नसकेको उहाँको भनाइ थियाे ।

अध्यक्ष दाहालले सम्भव भएसम्म राष्ट्रिय खेलकुद नै आयोजना नगर्ने नीति लिएको प्रष्ट देखिने बताउनुभयो । उहाँले त्यसको विरुद्ध अखिल नेपाल खेलकुद महासंघले यो खराब विषयमा आक्रामक तरिकाले हस्तक्षेप गर्न समेत अपील गर्नुभएकाे छ । माओवादीका केन्द्रका व्यक्ति खेलकुद क्षेत्रमा हुँदा खेलमा धेरै विकास गरे पनि त्यसलाई प्रभावित गर्ने काम भएको उहाँले आरोप लगाउनुभयो । त्यसैले अखिल नेपाल खेलकुद महासंघले पनि थप सक्रियता बढाएर खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्ने उहाँले औंल्याउनुभएकाे छ ।

अध्यक्ष दाहालले खेलकुद क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्रको आधारशीला रहेको औंल्याउनुभयो । राष्ट्रिय एकता र भाइचाराको प्रवद्र्धनमा पनि खेलकुद क्षेत्रको भुमिका महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभएकाे छ। तर समय कालखण्डमा खेलकुद क्षेत्रको दुरुपयोग भएको उहाँको भनाइ थियाे। पञ्चायती तानाशाहको रक्षा गर्नका निम्ती खेल क्षेत्रको सबै भन्दा बढी दुरुपयोग गरिएको उहाँले जिकिर गर्नुभयो । निरकुंसताको रक्षाका लागि युवा खेलाडीको दुरुपयोग गरिएको उहाँको ठहर छ ।

तर गणतन्त्र स्थापनापछि आफूहरूले नेपाली खेलकुद र खेलाडीलाई राष्ट्रिय एकता निर्माण, अन्तर्राष्ट्रिय पहिचान दिलाउनका लागि प्रोत्साहन गर्दै आएको समेत उहाँले बताउनुभयो । यो व्यवस्था आएपछि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम हुँदै आएको पनि उहाँले उल्लेख गर्नुभएकाे छ। पहिलो पल्ट आफू गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि नै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अध्यक्ष दाहालले रचनात्मक र सृजनात्मक ढंगले गाउँ टोलदेखि नै केन्द्रसम्म खेलकुद क्षेत्रलाई गतिशील बनाउन भूमिका खेलेको बताउनुभयो ।


अध्यक्ष दाहालले आफ्नो पार्टी सरकारमा जाँदा पटकपटक खेलकुद मन्त्रालय राखेर र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव पनि आफ्नै पार्टीले पठाएर खेलकुद विकासमा काम गरेको विश्वास व्यक्त गर्नुभयो । अहिले नेपाली खेलाडीहरूले विभिन्न खेलबाट अन्तर्राष्ट्रिय पदक दिलाउँदै देशका नाम पहिचान गराएकाले गर्वको महशुस हुने उहाँले बताउनुभएकाे छ। राज्यले लगानी बढाउने, खेलाडीहरूलाई उत्प्रेरित गर्ने, राम्रो भौतिक पूर्वाधार निर्माण गर्ने र राम्रो वातावरण निर्माण गर्ने हो भने खेलकुद क्षेत्रले आगामी दिनमा गुणात्मक परिवर्तन आउन उहाँको विश्वास छ ।

जसले देशको अर्थतन्त्रलाई माथि उठाउनमा पनि मद्दत गर्ने अध्यक्ष दाहालले धारणा राख्नुभयो । खेल पूर्वाधार निर्माणका लागि आफ्नो पार्टीले लगातार काम गरेको उहाँको भनाइ । क्रिकेट रंगशाला निर्माण प्रक्रिया होस् वा राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउन आफ्नो क्याबिनेट काम गरेको उहाँले स्मरण गर्नुभयो ।