
काठमाडौं । साफ यू-१७ महिला फुटबल च्याम्पियनसिपमा तेस्रो भएको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोली भुटानसँग १–१ को बराबरी खेलेको थियो । योसँगै नेपाल एक जित र एक बराबरीको नतिजासहित तेस्रो भयो । उपाधि जित्ने लक्ष्यसहित थिम्पु पुगेको नेपाल ६ खेलमा १ मात्रै जित हात पार्न सफल भएको हो ।
उक्त जित पनि नेपालले पहिलो लेगमा भुटानमाथि नै निकालेको थियो । सोही खेलमा सहारा लिम्बुको सानदार दुई गोलसँगै नेपालले २–१ को पुनरागमन जित निकालेको हो । सोही जित नै नेपाललाई तेस्रो बनाउन पर्याप्त रहेको थियो । नेपालले ६ खेलमा ४ अंक जोडेको छ ।
प्रतियोगितामा नेपाल र भुटान बाहेक भारत र बंगलादेश सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्