१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


भारतीय ट्रक विवाद: ट्राफिक प्रमुख सिलवालमाथि अनुसन्धान शुरू


5.057k
Shares

प्रकाश लम्साल

बारा । बाराको पथलैयाका ट्राफिक प्रहरी प्रमुख राज कुमार सिलवालमाथि भारतीय र आन्तरिक ओभरलोडका ट्रकहरुलाई कारबाही नगरी मिलेमतोमा छोड्ने गरेको आरोप लागेकाे छ ।

सिलवाल माथि प्रहरीको ५ वटा समितिले विभागीय अनुसन्धान शुरु गरिएकाे हाे । बारा-पर्सा औद्याेगिक करिडोर तथा विरगञ्न भन्सारबाट ओभरलोड बोकेर आउने सयौं भारतीय र नेपाली ट्रकहरुलाई कार्यालयकै अगाडि रहेको पोष्टबाट चेकजाँच नगरी छाेड्ने गरेकोे ४० भन्दा बढी उजुरी अख्तियार, नेपाल प्रहरीको उजुरी महाशाखा र मधेश प्रदेश प्रहरी कार्यालयमा परेपछि सिलवालमाथि अनुसन्धान शुरु गरिएकाे हाे ।

मधेश प्रदेश प्रहरी प्रमुख (डीआईजी) प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले पथलैया ट्राफिक व्यवस्थापन कार्यालय र प्रमुख सिलवाललाई छुटाछुटै ५ वटा समितिले छानबिन अनुसन्धान थालेको बताउनुभएकाे छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसएसपी कमल थापाको नेतृत्वमा बनाएको छानबिन समितिले पथलैया ट्राफिक प्रहरी प्रमुख सिलवाललाई मंगलबारसम्म समय तोकेर लिखित जवाफ मागेको छ ।

यस अघि सिलवालको सेटिङमा ओभरलोडका ट्रक जाने गरेको गुनासो नेपाल प्रहरीको मुख्यालयसम्मै पुगेकाे हाे । त्यसपछि ट्राफिक ब्यवस्थापन महाशाखा काठमाडाैंले गत साउन ११ गते पारबाहन नियमन सम्बन्धि निर्देशिका २०७४ अनुसार ओभरलोडलाई जरिवाना तथा मालसामान पल्टि गरेर मात्रै जान दिनु भनेर गरेको निर्देशन अवज्ञा भएपछि छानबिन समिति बनेको हो ।

पथलैया ट्राफिकका प्रमुख सिलवालले आफ्नो कार्यालयकै अगाडि रहेको चेकपोष्टबाट भारतीय र आन्तरिक ओभरलोडका ट्रकहरु सेटिङमा छाडने गरेपछि अख्तियारदेखि प्रहरीको केन्द्र र प्रदेश प्रहरीमा दर्जनौं उजुरी परेको प्रदेश कार्यालय जनकपुरले जनाएको छ । डीआईजी चतुर्वेदीले विवादित बनेको ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको चेकपोष्ट र बारा–पर्साका ट्राफिक प्रहरी कार्यालयलाई यातायात ब्यवस्था ऐन तथा कार्यविधिमा रहेर ट्रकको ओभरलोड नियन्त्रण गर्न लिखित र मौखिक निर्देशन दिएको बताउनुभयाे ।

गत शुक्रबार राति पथलैया ट्राफिकको सेटिङमा जान लागेका ५२ वटा ओभरलोड भारतीय ट्रकहरुलाई नेपाल प्रहरीले रोकेर कारबाही गरेसँगै मिलोमतोमा ट्रकले ओभरलोड गर्ने गरेको खुलासा भएकाे हाे ।