
नरेन्द्र महतारा
काठमाडाैं । उखु बिक्री गरेको भुक्तानी तथा उखुमा दिँदै आएको अनुदान कटौती नगर्न माग गर्दै उखु किसानहरु आन्दोलनमा उत्रिएका छन् । राजधानी केन्द्रित आन्दोलन शुरु गरेका किसानहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका हुन् । आन्दोलनमा देशका विभिन्न जिल्लाबाट आएका उखु किसानहरु सहभागी भएका थिए ।
गुलियो उखु उब्जाउने किसानको तितो व्यथा ! यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर सडकमा उखुसहित प्रदर्शनमा उत्रिएका किसानको पीडाले त्यहीं कुरा बोलिरहेको छ । उखु किसानलाई दिंदै आएको अनुदान सरकारले कटौती गरेपछि उनीहरु यसरी आन्दोलित बनेका हुन् । सरकारबाटै यस्तो अन्याय भएपछि उनीहरु न्यायका लागि सडक रोज्न बाध्य भएका छन् । किसानलाई सडकमा आउन बाध्य बनाएर सरकारले भने रमिता हेरिरहेको छ ।
सरकारले उखु किसानलाई प्रतिक्विन्टल अनुदान रकम ७० रुपैयाँ दिँदै आएको थियो । तर बजेट अभावको कारण देखाउँदै चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले किसानलाई दिंदै आएको सोही रकम ५० प्रतिशतले अर्थात ३५ रुपैयाँमा झारेको हाे । सरकारको निर्णयको विरुद्ध उखु किसानहरु अहिले राजधानीका सडकमा उत्रिएका छन् ।
किसानलाई प्रोत्साहन स्वरुव अनुदान रकम बढाउनुको साटो सरकारले उल्टो खेल खेलेपछि त्यसले किसानको मन अमिलो बनाएको हाे । अनुदान कटौतीको पीडा मात्रै छैन किसानको । गत आर्थिक वर्षमा चिनी मिलहरुलाई उखु बिक्री गरेको १ अर्ब ५१ करोड भन्दा बढी बक्यौता पनि उनीहरुले पाउन सकेका छैनन ।
केही वर्ष यता उखु बेचेको पैसा उठाउन गाउँ गाउँबाट राजधानी धाउनु किसानहरुको नियमित नियती बनेको छ । यस पटक बक्यौता नउठेको पीडा सुनाउन मात्रै होइन । सरकारबाटै भएको अन्याय विरुद्ध आवाज बुलन्द गर्न किसानहरु भदौरे घामको पर्वाह नगरि सडक आन्दाेलमा उत्रिन बाध्य भएका छन् ।
विस्तृतमा हेर्नुहोस् यो रिपोर्टः
प्रतिक्रिया दिनुहोस्