१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


१० अर्ब आन्तरिक ऋण उठाउने सरकारको तयारी


364
Shares

काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ ।

विकास ऋणपत्र २ वर्ष भन्दा माथि अर्थात मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् । अहिले ३ वर्षका लागि विकास ऋणपत्र-२०८५ ‘ढ’ बोलकबोलमार्फत जारी गर्ने तयारी गरिएको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले जनाएको हो।

उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले यही भाद्र ११ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्ने भएका छन् । ऋणपत्र खरिद गर्न चाहनेले अनलाइन प्रणालीको मध्यमबाट बोलकबोल पेश गर्नुपर्ने भएको हो । ऋणपत्रको सावाँ भुक्तानी २०८५ साल भाद्र १२ गते हुने र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने भएको छ । त्यस्तो व्याजमा आयकर लाग्नेछ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखेर बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको हो । उक्त ब्याजदर र त्यस भन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुने भएको छ ।

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने भएका छन् । ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने भएको हो । ऋणपत्रको ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने भएको छ । ऋणपत्र प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशतले हुने ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको हो ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिष्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । अप्रतिष्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकम भन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट हुने भएको हो।

ऋणपत्रमा घटिमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्ने भएको छ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिष्पर्धी र अप्रतिष्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्ने भएको हो ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले अप्रतिष्पर्धीको रुपमा भाग लिन नपाउने भएका छन् ।