९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


रूबी साहको शव प्रकरण: एक जना व्यक्ति पक्राउ


12.896k
Shares

काठमाडौं । रौतहटमा रुबीकुमारी साहको हत्यामा संलग्न भएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् ।

माधव नारायण नगरपालिका-२ कि २६ वर्षीया साहको हत्यामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको हो । पक्राउ परेका व्यक्ति साहको हत्यामा संलग्न हुने बढी प्रमाणहरु फेला परेको प्रहरीले बताएको छ ।

सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको र हत्यामा ती व्यक्ति संलग्न हुनसक्ने केही प्रमाणहरु फेला परेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो । थप बुझ्ने र भेरिफाई गर्ने काम भइरहेको प्रहरीको भनाइ छ । गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्केकी साह मृत अवस्थामा सुटकेशमा प्याक गरेको अवस्थामा भेटिएकी थिइन् ।

शनिबार साँझ करिब ६ बजेतिर आमा मिथिला देवी साहलाई फोन गरेर केही सामान ल्याउनुपर्छ भनेर समेत सोधेकी साह त्यसपछि बेपत्ता भएकी थिइन् । शनिबार राति साह घर फर्किनन् । तर शनिबार राति १० बजेतिर नै संकास्पद अवस्थामा सडकमा सुटकेश देखेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए ।

गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । प्रहरी टोलीले आइतबार बिहान खानतलासी गर्दा साहको शव भेटेकाे हो ।