८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


सोलुदूधकुण्ड नगरपालिका संस्थागत क्षमता स्वमूल्यांकनमा लगातार उत्कृष्ट


182
Shares

सन्तोष राउत-संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा लगातार दोस्रो पटक जिल्लाकै उत्कृष्ट भएको छ ।

८ वटा स्थानीय तह मध्ये सबै भन्दा बढी ८४ दशमलव ५० अंक प्राप्त गर्दै सोलुदूधकुण्ड जिल्लाको उत्कृष्ट बनेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्वमूल्यांकन (लिसा) मा साेही नगरपालिका जिल्लाको पहिलो स्थानीय तह भएको उल्लेख गरेको छ ।

शासकीय पद्धति र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वच्छ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको लिसामा नगरपालिकाले अघिल्लो वर्ष समेत प्रथम स्थान हाशिल गरेको थियो ।

विभिन्न १० वटा विषय क्षेत्र समेटेर तयार गरिने नतिजामा मन्त्रालयले तय गरेको मापदण्ड अनुरूप काम गरेकाले नगपालिका उत्कृष्ट भएको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनुभएको छ । सोही नतिजाले नगरपालिकार्लाइ कार्य सम्पादनमा थप हौसला मिलेको उहाँको भनाइ थियो ।

त्यस्तै, लिखुपिके गाउँपालिकाले ७९ दशमलव ७५ अंकसहित दोस्रो र नेचासल्यान गाउँपालिकाले ७९ दशमलव २५ अंक प्राप्त गरी तेस्रो भएको छ । थुलुङ दूधकोशी गाउँपालिकाले ७९ अंक प्राप्त गरेको हो । खुम्बु पासाङल्हामु गाउँपालिका ७८ अंक, माप्य दूधकोशी गाउँपालिकाले ६७ दशमलव ५० अंक र महाकुलुङ गाउँपालिका ५८ दशमलव ५७ अंक प्राप्त गरेको छ । सोताङ गाउँपालिकाले भने ५२ दशमलव २५ अंकका साथ अन्तिम स्थानमा रहेको हो ।

स्थानीय तहहरूको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, समाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन साथै सहकार्य र समन्वय लगायतमा मूल्यांकन गर्ने गरिन्छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ जारी गरी मन्त्रालयले स्थानीय तहका प्रत्येक आर्थिक वर्षमा स्वमूल्यांकन गरेको जनाएको हो ।