७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


कोशी राजमार्गमा पहिरोका कारण ३ दिनदेखि अवरूद्ध


455
Shares

काठमाडौं । संखुवासभाको खाँदबारी–कोशी राजमार्ग अन्तर्गत भोटखोलाको हुङ्गुङ सडक खण्डमा गएको ठूलो पहिरोका कारण विगत ३ दिनदेखि सडक अवरुद्ध भएको छ ।

खाँदबारीदेखि किमाथांका नाकासम्म जोड्ने करिब १ सय १५ किलोमिटर दूरीमा पर्ने सोही सडक बिहीबार गएको पहिराका कारण यातायात पूर्ण रूपमा ठप्प बनेको हो । उत्तर–दक्षिण कोशी सडक आयोजनाले करिब ३ सय मिटर सडक क्षेत्रमा भिरैसहित ढुङ्गा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको जनाएको छ ।

‘सडक निर्माणाधीन भएका कारण मेसिन प्रयोग गर्नसक्ने अवस्था छैन । भिरालो भू–भाग र लगातारको वर्षाले काम अझ चुनौतीपूर्ण भएको हो । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन र निर्माण सामग्री लगायत वस्तुको ढुवानी प्रभावित भएको छ । ३ दिनदेखि राजमार्ग ठप्प हुँदा यात्रु समेत समस्यामा परेका छन् ।

वर्षायाममा सोही क्षेत्रमा प्रत्येक वर्ष पहिरो जाने गरे पनि यस पटकको पहिरो असाध्यै ठूलो भएका कारण सडक कहिले खुल्ने भन्ने टुङ्गो लाग्न नसकेको आयोजनाले जनाएको हो । हाल पहिरो पन्छाउने प्रयास जारी राखेको भए पनि तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना देखिएको छैन ।