
घोराही ।
दाङकाे घोराही उपमहानगरपालिका-८ का अध्यक्ष जितेन्द्र बहादुर शाहले पदबाट दिएको राजीनामा २ वर्षपछि स्वीकृत भएको छ ।
उहाँले १२ असार २०८० सालमा नगरप्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा बुझाउनुभएकाे थियाे । त्यसको २ वर्षपछि साेही राजीनामा स्वीकृत भएको हो । नगरप्रमुख चौधरीका अनुसार आफूले गएको वर्ष असारमा राजीनामा स्वीकृत गरेको र सोमबार भएको कार्यपालिका बैठकबाट अनुमोदन गराएको बताउनुभयाे । एमालेबाट निर्वाचित शाहले बजेटमा असहमति जनाउँदै पदबाट राजीनामा दिनुभएकाे थियाे । आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहालिदिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएकाे हाे । वडाध्यक्ष शाहलाई नेकपा एमालेले २०८१ साल माघमा पार्टीबाट समेत कारबाही गरेको थियो ।
यो बीचमा धेरै पटक सुधार्न खोजे पनि नसुध्रिएपछि राजीनामा स्वीकृत गरिएको नगर प्रमुख चौधरीको भनाइ छ । उहाँले भन्नुभयाे,-‘धेरै पटक सम्झाउन खोजियो । तर, उहाँले मान्नु भएन, नसुध्रिएपछि राजीनामा स्वीकृत गरियो ।’ उहाँको राजीनामा स्वीकृत भएपछि जेष्ठताका आधारमा चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।शाह नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष विजयी हुनुभएकाे थियाे ।
उहाँले १ हजार ४ सय ५१ मत ल्याएउनुभएकाे थियाे । काँग्रेसका उम्मेदवार धनिराम चौधरीले भने १ हजार २ सय ४४ मत ल्याउनुभएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्