काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले भव्य स्वागतसहित पार्टीमा भित्र्याएपछि नेपाली राजनीतिक वृत्तमा यसको बहुआयामिक व्याख्या र विश्लेषण सुरु भएको छ ।
मुलुकको सर्वोच्च राजकीय पद सम्हालिसकेकी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किनुलाई कतिपयले नैतिक र पदीय मर्यादाका हिसाबले जायज नभएको भन्दै आलोचना गरेका छन् भने कतिपयले यसलाई संकटोन्मुख वामपन्थी आन्दोलनलाई जोगाउने कदमका रूपमा हेरेका छन् ।
राष्ट्रपति पदबाट बाहिरिएको केही वर्षमै पार्टीको सक्रिय राजनीतिमा फर्किनु आफैंमा सामान्य विषय होइन । त्यसमाथि, केही समयअघिसम्म पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नै रोक लगाएको एमाले नेतृत्वले अहिले सम्मानजनक भूमिकासहित अघि बढाउन थालेपछि यसको राजनीतिक उद्देश्यबारे विभिन्न कोणबाट व्याख्या हुन थालेको छ ।
भण्डारीको पुनरागमनलाई केवल एउटा नेताको पार्टी प्रवेशका रूपमा मात्रै हेर्न नहुने राजनीतिक विश्लेषण भइरहेको छ । एमालेभित्र नेतृत्व पुनर्गठनको बहस चर्किएको, पार्टीले निर्वाचन र जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा दबाब सामना गरिरहेको तथा वामपन्थी शक्तिहरूबीच पुनः सहकार्यको चर्चा सुरु भएको पृष्ठभूमिमा उनको सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
भण्डारीले राष्ट्रपति पदबाट बाहिरिएपछि सक्रिय राजनीतिमा फर्किने संकेत दिएकी थिइन् । उनले आफू लामो समयदेखि एमालेसँग जोडिएको र पार्टी राजनीतिमा पुनः सक्रिय हुन चाहेको बताउँदै आएकी थिइन् । तर, एमालेले उनको पार्टी सदस्यता ‘पेन्डिङ’ मा राखेको थियो । अहिले उनलाई पार्टीभित्र सम्मानका साथ स्थान दिइएको छ । यसलाई ओलीले बदलिएको शक्ति सन्तुलनअनुसार भण्डारीसँग सम्बन्ध सुधार गरेको विश्लेषण भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्