
काठमाडौं ।
चर्च ब्वाइज युनाइटेड क्लबले अग्रता जोगाउन नसक्दा एन्फा यु–१६ युथ लिगमा रोड कर्नर टिम (एनआरटी) सँग अंक बाँडेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको दोस्रो खेलमा चर्च ब्वाइज एनआरटीसँग १–१ को बराबरीमा रोकिएको हो ।
एनआरटीका निरञ्जन दुलालले गोल फर्काएका हुन् । अर्को गोल आत्मघाती भएको हो । अग्रता जोगाउन नसक्दा चर्च ब्वाइजले अंक बाँड्नुपरेको हो । बराबरीको नतिजासँगै चर्च ब्वाइजले चौथो स्थानमा उक्लिन अवसर गुमाउन पुग्यो । १३ खेलबाट चर्च ब्वाइज २४ अंकसहित चौथो स्थानमा छ । जुन शीर्ष स्थानको नेपाल पुलिस क्लबभन्दा १० अंक, दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लवभन्दा चार अंक र तेस्रो स्थानको मच्छिन्द्र क्लवले तीन अंकले पछि हो ।
यता चर्च ब्वाइजसँग अंक बाँडेको एनआरटी १३ खेलबाट १३ अंक जोड्दै ११ औं स्थानमा यथावत नै छ । एनआरटीले जारी लिगमा तीन जित, चार बराबरीको नतिजा सामना गर्दा ६ खेलमा भने हार व्यहोरेको छ । चर्च ब्वाइजले भने सात जित, तीन बराबरी र तीन हारको नतिजा सामना गरेको छ । यसअघि दिनको पहिलो खेलमा मच्छिन्द्र र फ्रेन्ड्सले गोल रहित बराबरीको नतिजा सामना गरेका थिए ।
यो बराबरीसँगै मच्छिन्द्रले दोस्रो स्थानमा उक्लिने र शीर्ष स्थानको पुलिससँग अंकदूरी घटाउने अवसर पनि गुमाउन पुग्यो । पाँचौं स्थानको फ्रेन्ड्सले पनि दोस्रो बराबरीकै नतिजा सामना गरेपछि दोस्रो स्थानमा उक्लिने अवसर गुमायो । समान १३ खेलबाट मच्छिन्द्रको २८ अंक छ भने फ्रेन्ड्स २६ अंकसहित पाँचौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्