२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सोवितालाई कांग्रेस सांसद विकको जवाफ – सरकारी स्कुलमै पढेको हो, नेपाली राम्रोसँग बुझ्छौँ


6.474k
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सुमेरु ट्राभल्सले भिजिट भिसामा जापान पठाइदिन्छु भनेर गोरखाका एक व्यक्तिलाई ठगी गरेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विकले २०१० मा २५ लाखमा घर बेचेर दिएको कुरा खुलासा भएको बताउनुभएको हो । २०१० बाट २०२५ सम्म आइपुग्दा यस्ता पीडितहरु कति भए होलान् भन्दै उहाँले प्रश्न गर्नुभयो । ट्राभल्सको नाममा मानव तस्कर गर्ने अनि अरुलाई मानव तस्कर जस्तो शब्द प्रयोग गरेर जबरजस्ती सावित गर्न खोज्नु घृणित व्यवहार भएको जिकिर गर्नुभयो ।

सांसद विकले बिना आधार, बिना उजुरी मानव तस्कर शब्द प्रयोग गरेर अरुको राजनीतिक, सामाजिक, व्यक्तिगत चरित्र समाप्त पार्ने कोशिस सह्य नहुने चेतावनी दिनुभयो । स्पेन भ्रमणमा बहानामा टोली लिएर गएर मान्छे छोडेर आयो भन्ने तथ्यहिन आरोप प्रधानमन्त्रीमाथि नलगाउन पनि चेतावनी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूले प्रधानमन्त्रीसँग गएको टोली नफर्किएको नभनेको तर सांसदहरुले नेपाली पनि नबुझेको भन्ने टिप्पणी गरेपछि सांसद विकले आफू सरकारी विद्यालयमै पढेर आएको र नेपाली राम्रोसँग पढ्न आउने बताउनुभयो ।

संसदमा बोल्ने अरुको कुरा नसुन्नि हिँड्ने नयाँ अभ्यास शुरु भएको हो भन्दै प्रश्न गर्नुभयो ।