
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानविन आयोगको माग गर्दै प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरुले जेठ १३ देखि संसद अवरुद्ध गर्दै आएका छन् । विपक्षीको निरन्तरको अवरोधले संसदको नियमित कार्यसूची प्रभावित हुँदा बजेटमाथिको छलफल समेत प्रभावित हुन पुगेको छ ।
सत्तापक्ष भने गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानविन वा संसदीय छानविन समिति बनाउन अझै तयार भएको छैन । सत्तापक्ष र प्रतिपक्षी दलहरुको आ–आफ्नै अड्डिको कारण राजनीतिक जुगलबन्दीमा फसेको छ संघीय संसदको प्रतिनिधि सभा ।
सभामुख देवराज घिमिरे दलहरुको बीचमा हुने विवाद र संसदलाई आफ्नो दलीय उद्देश्य प्राप्त गर्ने थलोको रुपमा प्रयोग गर्ने प्रयत्नलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउनुहुन्छ । यद्धपी आफ्नो दलीय उद्देश्य पूरा गर्ने मात्र नभई संसदलाई बलियो बनाएर लैजाने कुरामा समेत सबै दलहरु जिम्मेवार हुनुपर्ने उहाँको बुझाइ छ । संसद चलाउने कुरामा सत्तापक्ष र प्रतिपक्षको भूमिका पनि सभामुख जत्तिकै हुने उहाँको जिकिर छ ।
समय समयमा मुद्दा विशेषमा दलहरु विभाजित हुँदा संसद प्रभावित हुने भएपनि पछिल्लो भिजिट भिसा प्रकरणका सम्बन्धमा संसदलाई अगाडि बढाउने कुरामा राजनीतिक दल र तिनका नेतृत्वहरु गम्भिर देखिएको सभामुख घिमिरेले बताउनुभयो । उहाँका अनुसार संसद सचिवालय र स्वयं सभामुखको प्रयासमा दलहरूबीच संवादको माहोल बनिरहेको र सहमतिको वातावरण तयार हुँदै गएको छ ।
संसदमा उठ्ने विभिन्न इस्युहरुमाथि दलहरुका बीचमा दलहरुका बीचमा प्रयाप्त छलफल हुनुपर्नेपर्नेमा त्यस्तो हुन नसकेको सभामुख घिमिरेले बताउनुभयो । संसदको बजेट वक्तव्यले नीति कति समेट्न सक्यो रु विनियोजन कस्तो भयो रु भन्ने विषयमा विनियोजन शिर्षकमा जानु अगावै सांसदहरुले आफ्नो कुरा राख्न महत्वपूर्ण हुने उहाँको भनाइ छ । संसदको गतिरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएकोबारे राजनीतिक दलहरु जानकार हुँदाहुँदै पनि गम्भिरता नदेखाएको सभामुखको आरोप समेत छ ।
आइतबारदेखि संसद सञ्चालनमा आउने संकेत सभामुख देवराज घिमिरेले बताउनुभयो । सत्तापक्ष र प्रतिपक्षबीच संवाद बढेसँगै संसद गतिशील बनाउने सहमति नजिक पुगेको सभामुखको भनाइ छ । उहाँले सत्तापक्ष र प्रतिपक्षी दलका शिर्ष नेताहरुबीचको छलफलपछि संसद अवरुद्ध अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको संकेत दिँदै यस्तो संवेदनशील अवस्थामा सत्ता र प्रतिपक्षले मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । व्यवस्थाकै विरुद्धमा जाने दलहरुले संसद गतिरोधका कारण खुच्चिङ भनिरहेको उल्लेख गर्दै उहाँले संसदीय दलभित्रका नेताहरुले यसबारे सोच्न जरुरी रहेको बताउनुभयो ।
प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुने बताइएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसाको बद्मासीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र आवश्यक छानविन हुनुपर्ने मागबाट पछि हट्न नखोजेपछि शिर्ष तहमा छलफल हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्