२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको अडान कायमै


598
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ ।

सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गृहमन्त्रीमाथि प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्दा नै उपयुक्त हुने बताउनुभयो । उहाँले गृहमन्त्रीले पठाएको बद्नाम सहसचिव विमानस्थलमा जाने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने र सचिवालयका मान्छेहरू यस्तै मुद्दामा परेकाहरू हुने जस्ता अस्वाभाविक प्रक्रियाले गृहमन्त्रीलाई विवादमा तानेको बताउनुभयो ।

उपमहासचिव पुनले राजीनामा विपक्षी दलले मात्रै नभएर आम नागरिकले समेत मागिरहेको बताउनुभयो । उहाँले भिजिट भिसा प्रकरणमा सेटिङ, भ्रष्टाचार र अनियमितता भएको स्पष्ट तथ्य स्थापित भएको बताउँदै गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने बताउनुभयो ।

भिजिट भिसा तथा रकम असुली प्रकरणमा मुछिएपछि विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गर्ने सङ्केत गरेका छन् ।