Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


६ जना पत्रकारहरु पुरस्कृत


195
Shares

काठमाडौं । देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

पत्रकार राष्ट्रिय दबूको भक्तपुरमा सम्पन्न भएको १३ औं वार्षिक साधारणसभामा उनीहरुलाई पुरस्कार प्रदान गरिएको हो ।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार मेट्रो एफएमका वरिष्ठ सञ्चारकर्मी जुजुमान महर्जनलाई प्रदान गरिएको थियो । पुरस्कारको नगद राशी १० हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी नेपालका पहिलो त्रिपिटकाचार्य एवं २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले देश निकाला गरेका आठ भिक्षुमध्ये एक भिक्षु कुमार काश्यप महास्थवीरको नाउँमा भिक्षु कौडण्यले स्थापना गरेको भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार नेपाल मण्डल टेलिभिजनमा क्रियाशील सञ्चारकर्मी रामराजा बज्राचार्यलाई प्रदान गरिएको छ । यस पुरस्कारको नगद राशी २० हजार रुपैयाँ रहेको छ ।

ललितपुर जिल्लामा पहिलो अपांगमैत्री भवन बनाउने कार्यको अग्रसरता लिएकी समाजसेवी मोतीशान्ति शाक्यले आफ्ना आमा र बाबुको नाउँमा स्थापना गरेको ज्ञानदेवी–मणि पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार नेवाः एचडी टेलिभिजनका वरिष्ठ पत्रकार नवीन जोशीलाई प्रदान गरिएको छ । यस पुरस्कारको नगद राशी २० हजार रुपैयाँ रहेको छ ।

यस्तै देवशोभा कंसाकारद्वारा स्थापित ज्ञानज्योति–लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार भक्तपुरको जनसञ्चार टिभी, जनसञ्चार एफएम र जनसञ्चार अनलाइन न्यूज पोर्टल सञ्चालक सुरेश साँय्जुलाई प्रदान गरियो । पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार गोरखापत्रमा आवद्ध रहेका फोटो पत्रकार मनोजरत्न शाहीलाई प्रदान गरिएको छ । यस पुरस्कारको नगद राशी १० हजार रुपैयाँ रहेको छ ।

विजयराम कर्माचार्यद्वारा स्थापित श्रीराम स्मृति पत्रकारिता पुरस्कार चितवनका पत्रकार निशा श्रेष्ठलाई प्रदान गरिएको छ ।

पुरस्कृत सबैलाई बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो ।