Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


जनता आवास कार्यक्रममा लापरवाही, १४ महिना बित्दा समेत घर बनेन


0
Shares

सर्लाही, असोज १ । सर्लाहीमा जनता आवास कार्यक्रमअन्तर्गत बनाइनुपर्ने घर निर्माणमा ढिलाइ भएको छ ।

घर निर्माण सुरु भएको १४ महिना बितिसक्दासमेत पूरा हुन सकेको छैन । दलित एवं अति विपन्न समुदायका लागि सरकारले निर्माण गर्नुपर्ने अधिकांश घरमा छाना हालिएको छैन । निर्माणाधीन अवस्थामै रहेका घरमा गुणस्तरहीन सामग्रीको प्रयोग भएको खुलासा भएको छ ।

गुणस्तरहीन सामग्रीको प्रयोगले निर्माणाधीन घरका भित्तासमेत चर्किसकेका छन् ।

शहरी विकास मन्त्रालयअन्तर्गत जनता आवास कार्यक्रमले २०७४ असारमा दलित एवं विपन्न समुदायका लागि घर बनाउन सुरु गरेको थियो । तर १४ महिना बित्न लाग्दा पनि दुईकोठे घर निर्माण हुन नसकेको हो ।

आर्थिक वर्ष २०७३/७४ मा सर्लाहीका दलित एवं विपन्न समुदायका लागि जनता आवास कार्यक्रमअन्तर्गत एक हजार घर निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो । प्रतिघर २ लाख ५० हजार रुपैयाँ आए पनि घर निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् ।

आफ्नो पुरानो बसिरहेको घर भत्काएर त्यही ठाउँमा नयाँ घर बनाउन थालेका स्थानीय मारमा परेका हुन् ।

तर जनता आवास कार्यक्रम अन्तर्गत सर्लाहीमा घर निर्माण गर्न तोकिएका फोकल पर्सन सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाका इन्जिनियर श्यामकृष्ण झाले भने ९० प्रतिशत काम पुरा भइसकेको दावी गरे ।

चालु आर्थिक वर्षका लागि भने सर्लाहीमा एउटा घरका लागि ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो वर्षभित्रै १ हजार ६ सय घर निर्माण गरिने सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले जनता आवास कार्यक्रम हेर्ने भनिए पनि कार्यालय स्थापना नभएका कारण काम अघि बढ्न नसकेको ईन्जिनियर झाको भनाइ छ ।