Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा के भन्छन् नेता र अधिकारकर्मीहरु !


0
Shares

काठमाडौं, भदौ ३१ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा नै दोषी रहेको आरोप लगाएका छन् । 

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कर्णले प्रारम्भिक अनुसन्धानमै प्रहरीले हेलचेक्र्याई गरेको थाहा हुँदाहुँदै पनि कारबाही नगर्नुमा प्रधानमन्त्री र गृहमन्त्री दोषी भएको दाबी गरे । उनले प्रश्न गरे, ‘अहिलेसम्म घटनाको दोषी पत्ता लगाउन नसक्नु सत्ता सञ्चालकहरुको विफलता हो । अनुसन्धान गर्ने निकाय नै दोषी हो । त्यो निकायले अनुसन्धान किन राम्रोसँग गरेन ?’

कर्णले गृहमन्त्रीले संसदमा दिएको जवाफ आश्चर्यजनक भएको जिकिरसमेत गरे । उनले भने, ‘गृहमन्त्रीले संसदमा दिएको जवाफ चित्तबुझ्दो छैन । उहाँले अहिलेसम्म अनुसन्धान अधिकृतलाई लिखित उजुरी परेको छैन भनेर जवाफ दिनुभयो । अनुसन्धान अधिकृतलाई धम्की दिँदा गृहमन्त्रीलाई धम्की दिनेको बारेमा थाहा हुँदैन भने के को गृह प्रशासन ? के को गृहमन्त्री ? के को सरकार ?’ 

निर्मलाको बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा संलग्न वास्तविक दोषीलाई सरकारले चाँडोभन्दा चाँडो सार्वजनिक गरेर कानुनी कारबाही गर्नुपर्ने उनको माग छ । उनले भने, ‘न्याय माग्न पनि पीडितले प्रधानमन्त्री र गृहमन्त्रीकहाँ धाउनुपर्ने ? यो कस्तो राज्य हो ?’

सत्तारुढ दल नेकपाका सांसद डा. दिपक प्रकाश भट्टले निर्मला पन्त हत्याको वास्तविक अपराधीलाई सार्वजनिक गरेर कडा कारबाही गर्नुपर्ने बताए । उनले आफूले यस घटनाबारे प्रधानमन्त्रीलाई गलत ‘बिफ्रिङ’ गरेको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारे ।

भट्टले भने, ‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको बारेमा राज्य गम्भिर बन्नुपर्छ । सरकारले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । घटनाको बारेमा अहिले जे जस्ता कुराहरु आईरहेका छन्, यसबारेमा पनि छानबिन हुनुपर्छ ।’

उक्त क्षेत्रको जनप्रतिनिधिको हैसियतले आफूले निर्मलाको न्यायको लागि निरन्तर आवाज उठाईरहेको पनि उनले स्पष्ट पारे । 

घटना भएको यतिका दिन बित्दा पनि अहिलेसम्म वास्तविक दोषी पत्ता लगाउन नसक्नु दुःखद् भएको बताउँदै उनले अनुसन्धानमा लापरवाही भएको गुनासो पोखे । उनले भने, ‘अनुसन्धानमा प्रहरीको भूमिका गैरजिम्मेवारीपूर्ण देखियो । अहिले नेपाल प्रहरीको मनोबल गिरेको छ ।’ भट्टले अपराधीलाई कुनै पनि हालतमा बचाउन नहुने धारणा राखे । 

उनले आफू निर्मलाको आमा–बुवालाई न्यायको निम्ति जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको विश्वास दिलाए ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले निर्मला हत्याका दोषी पत्ता लगाउन प्रहरीबाटै अनुसन्धान सुरु गर्नुपर्ने बताए । उनले भने, ‘घटना भएको आज ५२ दिन भइसक्यो । तर, अहिलेसम्म प्रहरीले वास्तविक दोषी पत्ता लगाउन सकेको छैन । प्रहरीको अनुसन्धानप्रति पनि अहिले जनताको विश्वास गुमेको छ । त्यसैले प्रहरीबाटै अनुसन्धान सुरु गर्नुपर्छ ।’

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नै अनुसन्धानमा प्रहरीबाट कमजोरी भएको स्वीकार गरिससकेपछि अनुसन्धान प्रक्रियामा सुधार गर्नुपर्ने भए पनि त्यसो नगरिएको उनको गुनासो छ । उनले भने, ‘यस्ता किसिमका घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीले दक्ष, स्रोतसाधनयुक्त र निर्भिक प्रहरी युनिट गठन गर्नुपर्छ । ट्राफिक, र शान्तिसुरक्षा लगायतका सबै कुरा एउटै प्रहरीबाट सम्भव हुँदैन । यसको लागि छुट्टै युनिट गठन गर्नुपर्छ ।’

उनले निर्मला पन्तको हत्याबारे डिएनए टेष्ट गर्न छुट्टै फोरेन्सिक विज्ञ चिकित्सकहरु बाहिरबाट झिकाउनुपर्ने माग गरे । उनले भने, ‘छानविनको लागि डिआईजीभन्दा माथिल्लो नेतृत्वको प्रहरी अधिकारी सम्मिलित अनुसन्धानमा विशिष्ट विज्ञ समिति बनाउनुपर्छ ।’

पछिल्लो समय मुलुकमा बलात्कारलगायत मानव अधिकार विरुद्धका घट्नाहरु बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले यस्तो अवस्थामा प्रहरी कहाँ छ ? र सरकार कहाँ छ भन्दै प्रश्न गरे । उनले भने, ‘एउटा घटनाको पीडित कञ्चनपुरबाट न्याय माग्न काठमाडौं आउनुपर्ने ? प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्नुपर्ने ? त्यसमा पनि समय नदिने ? मानव अधिकार, कानुनी शासन र न्याय भन्ने कुरा यही हो ?’

निर्मलाको बलात्कारपछिको हत्या प्रकरणमा आफूहरुले निरन्तर अनुसन्धान गरिरहेको टोली र सरकारले गठन गरेको समितिको अनुसन्धान प्रक्रियामाथि पनि निगरानी गरिरहेको पाठकको भनाइ छ । उनले भने, ‘यसको लागि हामीले गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग आयोगमै बोलाएर छलफल गर्ने तयारी गरेका छौं । सम्भवतः भोलि उहाँहरुसँग छलफल हुन्छ ।’

मानवअधिकारकर्मी तुलसी थापाले निर्मला पन्त नाबालिकाको बलात्कारपछि हत्याजस्तो अमानवीय, निर्मम र हृदयविदारक घट्ना हुँदा पनि राज्यले दोषी पत्ता लगाई कानुनी कारबाही गर्न गम्भिरता नदेखाएको गुनासो पोखे । 

उनले भने, ‘निर्मला हत्या प्रकरण जघन्य अपराध हो । यो घटनामा आलोचना र निन्दा गरेरमात्रै पुग्दैन । घटनाको अनुसन्धान गर्ने जिल्लाको प्रहरी नेतृत्वको अनुसन्धान प्रक्रिया नै लापरवाही देखियो । उनले आफ्नो काुननी दायराभित्र रहेर दोषी पत्ता लगाउने कर्तव्य पूरा गरेनन् ।’

घटनाको जिम्मा लिनको लागि प्रहरीले विभिन्न निर्दोष व्यक्तिहरुलाई समातेर चरम यातना दिएको पनि उनले आरोप लगाए । उनले भने, ‘म घटनास्थलमै पुगेर आएको छु । हेमन्ती भट्ट, चक्र बडु र दिलिपसिंह विष्टलाई प्रहरीले यातना दियो । जबरजस्ती घटनाको दोषी बनाउन खोजेको पाइयो ।’

घटना भएको यतिका दिन बितिसक्दा पनि वास्तविक अपराधीलाई सार्वजनिक गर्न नसक्नु राज्यको गम्भिर कमजोरी रहेको उनको आरोप छ । उनले भने, ‘जुनसुकै तह, तप्का र संगठनको व्यक्ति भए पनि दोषीलाई कानुनी कारबाही गर्नुपर्छ । राज्यले संरक्षण गर्ने काम गर्नुहुँदैन ।’

कार्यक्रममा अधिकारकर्मी माया मेगीले निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले निर्दोष व्यक्तिहरुलाई समातेर यातना दिएकोले उनीहरुको मानव अधिकार हनन् भएको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘आज हामी निर्मलाको लागि न्याय माग्न काठमाडौं आएको पनि हप्ता दिन बित्न लाग्यो । तर, सरकारले अहिलेसम्म हामीलाई न्याय दिनेगरि कुनै पहल गरेको छैन । सरकारले निर्मलाको हत्यामा संलग्न दोषीलाई सार्वजनिक गर्नुपर्छ ।’

अर्की अधिकारकर्मी मीना भण्डारीले निर्मला पन्तको बलात्कार सामूहिक बलात्कार हो भनेर स्वयं निलम्बित एसपी डिल्लीराज विष्टले आफूहरुसँग पटक–पटक सार्वजनिक रुपमै बोलेको बताउँदै अहिले आएर एकल बलात्कार भनेर घटनाको अनुसन्धान गर्नु नै आपत्तिजनक रहेको बताईन् । 

उनले भनिन्, ‘घट्नास्थलमा निर्मलाको शव हेर्दा रिसले आगो नहुने कोही पनि थिएनन् । किनकी नानीको अंगभंग भएको थियो । अहिले पनि हामीसँग त्यो दृश्यले गर्दा आक्रोश छ । निर्मलाको ग्यांग रेप भएको छ भनेर स्वयं एसपीले भनेका थिए । अहिले फेरि सिंगल रेप भनिएको छ । यो कुरा सरकारले भन्यो या प्रहरी कसले भन्यो ?’