Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


केन्द्रिय कारागार अस्पतालको सेवा र जनशक्ति बढाउनुपर्नेमा जोड


78
Shares

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रिय कारागार अस्पतालको सेवा, सुविधा र जनशक्ति बढाउनुपर्नेमा सरोकारवाला निकायहरुले जोड दिएका छन् ।

बुधबार केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको वार्षिक प्रगति प्रतिवेदन तथा स्मारिका, २०८१ सार्वजनिक कार्यक्रममा बोल्दै सरोकारवाला सरकारी निकायका प्रतिनिधिहरुले यसको सेवा, सुविधा र जनशक्ति बढाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले केन्द्रिय कारागार अस्पतालले कैदीबन्दीहरुले पाउनुपर्ने आधारभुत स्वास्थ्य सेवा दिइरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले यहाँ पूर्वाधारहरुको अभाव रहेको अवस्थामा नख्खु कारागारमा बनेको पूर्वाधारमा अस्पताललाई स्थानान्तरण गरेर सञ्चालन गर्न सकिने बताउनुभयो । यहाँले छिटोभन्दा छिटो नख्खु कारागारमा अस्पताल सार्न आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न विकास साझेदार संस्थाहरुलाई अस्पतालमा जोड्दै सेवा बिस्तार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले कारागारमा रहने कैदी, बन्दीहरुमा सबैभन्दा धेरै मानसिक समस्या देखापर्ने भन्दै अस्पतालको मानसिक स्वास्थ्य विभागलाई स्रोत, साधन सम्पन्न बनाउनुपर्ने बताउनुभयो । उहाँले अस्पतालको जनशक्ति व्यवस्थापनको सम्बन्धमा पुनरावलोकन गरी जनशक्ति व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।

सचिव मैनालीले आवश्यक स्रोत, साधन परिपूर्ति गर्नका लागि मन्त्रालयले सरोकारवाला निकायहरुसँग छलफल गर्ने र काम अगाडी बढाउने बताउनुभयो ।