Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


प्रस्तावित मिडिया काउन्सिलको नारा तय, स्वतन्त्र भन्ने शब्द थपिने


104
Shares

काठमाडौं । प्रस्तावित मिडिया काउन्सिलको नारा तय गरिएको छ ।

सोमबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकले प्रस्तावित मिडिया काउन्सिलको नारा तय गरेको हो ।

बैठकले स्वतन्त्र, स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि : मिडिया काउन्सिल भन्ने नारा तय गरेको हो ।

समितिको तर्फबाट समितिका उपसचिव नुमराज खनाल शर्माले यसअघि स्वच्छ, मर्यादित र जवाफदेही राखिएकोमा स्वतन्त्र शब्द थप गरि नारालाई अन्तिम रुप दिएको बताउनुभयो । विधेयक दर्ता गर्दा सरकारले स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि भन्ने विषयलाई सांसदहरुले स्वतन्त्र भन्ने शब्द संसोधनमार्फत थप गरेका हुन्

राष्ट्रिय सभामा उत्पत्ति भएको मिडिया काउन्सिल विधेयक–२०८० को नाम परिवर्तन गरी आम सञ्चार परिषद–्२०८० राख्ने निर्णय यसअघि नै गरिसकेको छ । उपसचिव खनालले परिषद्लाई अंग्रेजी भाषामा भने मिडिया काउन्सिल नाम राखिने बताउनुभयो ।

विधेयक दर्ता गर्दा स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि स्वायत्त नियामक निकायका रूपमा मिडिया काउन्सिल रहने उल्लेख गरिएकोमा सरोकारवालाहरुले विरोध गर्दै आएका थिए । ‘स्वतन्त्र’ भन्ने शब्द थपेर परिमार्जन गर्न आवाज उठ्न थालेपछि सांसदहरुले नै संशोधनमार्फत ‘स्वतन्त्र’ शब्द थपेका हुन् ।

प्रस्तावित मिडिया काउन्सिलले पत्रकारको अभिलेख राख्ने, प्रेस प्रतिनिधि परिचयपत्र प्रदान गर्ने, आचार संहिता जारी गर्ने, आचार संहिता उल्लंघनको विषयमा उजुरी लिनेदेखि, सरकारलाई आमसञ्चारसम्बन्धी नीति निर्माणमा सुझाव दिनेलगायत काम गर्ने भनिएको छ । मिडिया काउन्सिल विधेयक, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत वैशाखमा दर्ता गराउनु भएको थियो । यो विधेयक पारित भएर लागू हुँदा आम सञ्चार परिषद् ऐन, २०८० हुने छ ।