Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


नेपालमा मानवीय कामलाई व्यवस्थित बनाउनको लागि छुट्टै रेडक्रस कानून आवश्यक


78
Shares

काठमाडौं । नेपालमा मानवीय कामहरुलाई व्यवस्थित बनाउनको लागि छुट्टै रेडक्रस कानून आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटीले बताएको छ ।

बुधबार नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले यस्तो बताएको हो ।

मुलुकमा समयअनुसार फरक प्रकृतिका मानवीय संकटहरु देखापर्दै गएकाले समयानकुलको सेवा प्रदान गर्नेको लागि कानून आवश्यक रहेको बताउनुभयो ।

महामन्त्री श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले कानूनको अभावमा पछिल्लो समय धेरै समस्याहरु भोग्दै आएको बताउनुभयो । उहाँले सबै रेडक्रसकर्मीहरुको चाहना रेडक्रस कानूनमार्फत रेडक्रसका कामहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कानूनी रुपमा रेडक्रसका कामहरुलाई व्यवस्थित बनाउनसके मात्रै मानवीय सिद्धान्त र आधारभुत मान्यताहरु पूरा गर्न सकिने बताउनुभयो ।

महामन्त्री श्रेष्ठले समुदायमा सहज रुपमा सेवा प्रवाह गर्न पनि रेडक्रस कानूनको अरिहार्य आवश्यक भएको दाबी गर्नुभयो । उहाँले नेपाल रेडक्रस सोसाइटीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कमाएको खातीहरु र उपलब्धीहरु गर्दै आएको पनि बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले अहिलेको नेतृत्व कमिटी निर्वाचित भएर आएको भन्दै काम नगर्ने भन्ने विषयमा दुविधामा नरहन आग्रह गर्नुभयो । उहाँले अहिलेको कमिटी तदर्थ समिति नभई निर्वाचित भएर आएको भन्दै सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले सोसाइटीले समाजमा परिणाम देखिने गरी काम गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले समाजमा परिणाम देखिने गरी काम गरे मात्रै समाजले फाइदा पाउने बताउनुभयो । सोसाइटीले पछिल्लो एक वर्षमा बाढी,पहिरो र चट्याङ्का कारण समस्यामा परेका १५ सय ७९ परिवारलाई ५० लाख बराबरको नगद र गैरखाद्य राहत सामग्रीहरु वितरण गरिएको जनाएको छ ।