Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


स्वास्थ्य बीमा सबैलाई ५ लाख दिने भनेका होइनौं : स्वास्थ्यमन्त्री पौडेल


4k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित गर्न सकिएको अवस्थामा मात्रै स्वास्थ्य सुविधा सहज र सरल बन्नसक्ने बताउनुभएको छ ।

बुधबार कान्ति बाल अस्पतालको मानसिक रोगको अन्तरंग सेवाको शुभराम्भ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमामा राज्यका विभिन्न निकायहरुले दिएका स्वास्थ्य बीमा सम्बन्धि सुविधाहरुलाई स्वास्थ्य बीमासँग एकीकृत प्रणालीमा ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले सरकारले स्वास्थ्य बीमालाई थप व्यवस्थित गर्नसके मात्रै स्वास्थ्य सुविधाहरुलाई सहज,सरल र प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

उहाँले सरकारले युनिभर्सल कभरेजको रुपमा स्वास्थ्य बीमाको व्यवस्था गर्न खाजेको बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमाका लागि गरेको प्रश्तावमा व्यापक टिकाटिप्पणी भइरहेको भन्दै मन्त्रालयले सबैलाई स्वास्थ्य बीमा ५ लाख दिने नभनेको स्पष्ट पार्नुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले सरकारले बनाएको ८ वटा नसर्ने रोगहरुको सूचीअनुसार नसर्ने क्रोनिक रोग लागेका बिरामीहरुलाई कम्तिमा ५ लाख दिने प्रश्ताव गरिएको बताउनुभयो । उहाँले सामान्य रोग भएका बिरामीलाई १ लाखमा नै स्वास्थ्य उपचार गरिने बताउनु भयो । उहाँले सरकारले एक लाख रुपैयाँ दिने भनेर बनाएका रोगहरुको सुविधा पनि बीमामा ल्याएर जोड्नुपर्ने बताउनुभयो । विपन्न,आमा सुरक्षा कार्यक्रमलाई पनि स्वास्थ्य बीमासँग जोड्नुपर्ने बताउनुभयो ।

उहाँले राज्यले सुर्तिजन्य र मदिराजन्य पदार्थमा लिएको करको आधा हिस्सा स्वास्थ्य बीमालाई दिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश र स्थानीय तहले स्वास्थ्य सेवा दिने खर्च,सञ्चय कोषबाट दिने बीमा र सामाजिक सुरक्षा कोषबाट दिने स्वास्थ्य बीमा लगायत सबैलाई स्वास्थ्य बीमामा ल्याएर जोड्नसके वार्षिक स्वास्थ्य बीमामा लाग्ने ९ अर्ब ४५ अर्बको हाराहारीमा पुग्नसक्ने बताउनुभयो ।