Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


पर्वतको मालढुङ्गा-बेनी सडक अवरुद्ध


0
Shares

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ ।

निरन्तरको वर्षाका कारण कुश्मा नगरपालिका वडा नंं १ मालढुंगा नजिकै भिरवाट ढिस्को सहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

विहान साढे ५ बजेवाट सडक अवरुद्ध बनेको पर्वतका जिल्ला ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका सवारी साधन खनियाघाटमा अलपत्र बनेका छन् भने अन्यत्रवाट आएका सवारीसाधन मालढुंगामा अलपत्र बनेका छन् । अत्याधिक ठुलो वर्षा भएका कारण सडक तत्काल खुलाउन समस्या भएको छ ।

सडक खुलाउनका लागि बेनी–मालढुंगा सडक निर्माणको जिम्मा पाएको एपेक्स–खड्का–कृष्ण जेभीको जेसिबी तयारी अवस्थामा राखिएको र वर्षा कम हुने वित्तिकै खुलाउन प्रयास गरिने ट्राफिक प्रमुख ओझाले बताउनुभयो । १३ किलोमिटर लामो मालढुंगा–बेनी सडक अन्तर्गत अहिले मालढुंगा देखि फर्सेसम्म कालोपत्र गर्ने तयारी भएको भएपनि वर्षाका कारण यस वर्षपनि कालोपत्रको काम अलपत्र बनेको छ ।

मालढुंगादेखि फर्सेसम्मको पाँच किलोमिटर सडक कालोपत्रे गर्नका लागि अहिले बेस विच्छ्याउने, लोडरले अठ्याउने काम भैरहेको कालीगण्डकी कोरिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको छ । तर वर्षा निरन्तर भएकाले कालोपत्र गर्न नसकिएको आयोजनाका इन्जिनियर अच्युत पन्तले बताउनुभयो ।