ध्रुव भट्टराई (इमेज)
विराटनगर, भदौ २९ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा तानिएका निलम्बित एसएसपी दिवेश लोहनीलाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।
न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण र सारंगा सुवेदीको संयुक्त इजलासले शुक्रबार मोरङ जिल्ला अदालतको आदेश उल्ट्याउँदै लोहनीलाई थुनामुक्त गर्ने आदेश दिएको उच्च अदालतका सूचना अधिकारी राजकुमार दाहालले जानकारी दिए ।
महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौंका प्रमुख रहेका उनलाई अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित छानबिन समितिले बयानका लागि बोलाएको थियो ।
गत वैशाख १९ मा पक्राउ परेका उनलाई बयानपछि पक्राउ आदेश दिइएको थियो ।
लोहनीले गत असार ७ मा थुनामुक्त हुन पाऊँ भनी निवेदन दिएका थिए ।
सुन तस्करीकान्डमा लोहनीसहित ६३ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको थियो ।
जिल्ला अदालतको आदेशअनुसार उनलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा राखिएको थियो ।









प्रतिक्रिया दिनुहोस्