काठमाडौँ । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यता काठमाडौं उपत्यकामा पनि राति नै देखि पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशमा बिहान आंशिकदेखि साधारणतया बदली छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका एक–दुई क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उता केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको महाशाखाले जनाएको छ । आगामी ४ दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।








प्रतिक्रिया दिनुहोस्