Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु


1.6k
Shares

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को जेठ २४ गते (बिहीवार) बसेको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।

सञ्चारमन्त्री शर्माले शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धकमा पदम ओलीलाई नियुक्त गर्ने गरिएको पनि बताउनुभयो । त्यसैगरी सरकारले ५२ वटा विभिन्न रोगलाई संक्रामक रोगको रुपमा पनि घोषणा गरेको छ । आवासीय सेवामा हड्ताल गर्न निषेध आदेश जारी गर्ने र सोको सूचना राजपत्रका प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ । हरेक ६ महिनामा जारी हुने सो आदेशलाई राजपत्रका प्रकाशित गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले बताउनुभयो ।

सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति पनि दिएको छ ।

मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा तेजबहादुर रायलाई तोक्ने निर्णय गरेको छ । मन्त्री शर्माका अनुसार सरकारले जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ र ज्येष्ठ नागरिकसम्बन्धि पहिलो संशोधन नियमावली २०८१ पनि स्वीकृत गरेको छ ।