Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


प्रविधिले लत्याएको घण्टाघरको ‘घडी’


182
Shares

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ

काठमाडौं । कुनै समय काठमाडौं उपत्यकावासीको समयको सूचक बनेको घण्टाघर अहिले बेवारिस अवस्थामा उभिएको छ । प्रविधिको फड्कोले घण्टाघरको घण्टी सुन्नु नपर्ने भएपछि राज्यले ऐतिहासिक र पुरातात्विक महत्वको घण्टाघरको संरक्षणमा कुनै चासो दिएको छैन ।

राणा प्रधानमन्त्री वीरशमशेरको आदेशमा बनेको घण्टाघरले दिउँसो १२ बजे १२ घण्टी बजाएपछि टुँडिखेलमा सेनाले तोप पडकाएर १२ बजेको जनाउ दिने चलन वि.स. १८७५ देखि चलिआएको थियो । उति बेलाको समय सूचकको घण्टी सुनेर तोप पडकाउने चलन २०५२ सालसम्म निरन्तर रह्यो । २०५२ पछि घण्टाघरको घण्टी सुनेर तोप पड्काउने चलन मात्रै रोकिएन घण्टाघरप्रति राज्यको नजर पनि छुट्यो ।

समयको जनाउ दिन खडा गरिएको ऐतिहासिक र पुरातात्विक महत्वको घण्टाघर अहिले बन्द छ । न घण्टाघरको घडीको सुई घुम्छ नत यसले समयको संकेत दिन घण्टी नै बनाउँछ । इतिहासदेखि समय गणना गर्दै आएको यो धरोहर वर्षाैंदेखि मर्मतसम्भारको अभावमा मात्र ठिंग ठडिएको मात्रै छ ।

सोलार घडी समेत रहेको यस घण्टा घरकोे घडीले २०३८ सालको आगलागीपछि समय दिन छोडेको थियो । तर २०४४ सालमा काठमाडौंमा आयोजित दोस्रो सार्क सम्मेलनका क्रममा घडी मर्मतको आवश्यकता महसुश गरी प्राविधिक खोजी सुरु गरियो । त्यसका लागि खडा भए त्रिचन्द्र क्याम्पसमै प्राविधिकका रूपमा काम गर्दै आएका गणेश सापकोटा । २०४४ सालदेखि निरन्तर रुपमा मर्मत सम्भार गर्दै आएका सापकोटाले आप्mनो जीवनकालको ३२ वर्ष योगदान दिनुभयो एक्लै । जब गणेश सापकोटाको अवकाश भयो तव नेपाल सरकारले घण्टाघरको घडी मर्मतका लागि कसैलाई तालिम दिनेतर्फ ध्यान नदिँदा यो दुर्दशा भएको हो ।

कुनै समय काठमाडौंवासीले घण्टाघरको आवाज अनुसारै आफ्नो समय व्यवस्थापन गर्दै आएकोमा विस्तारै प्रविधिले फड्को मार्दै गएपछि घण्टाघरको आवश्यकता अनिवार्य त रहेन । तर घण्टाघर वरपर पुग्ने जो कोहीको आँखा एकपल्ट घडीमा पर्ने गरेको छ । घण्टाघरको सरसफाइ, मर्मत सम्भार र जीर्णोद्धारको जिम्मेवारी कसैले नलिएका कारण ऐतिहासिक हरोधर भताभुङ्ग भएको देख्दा निकै दुखी भएको सापकोटा बताउनुहुन्छ ।

काठमाडौं महानगरपालिका पनि घण्टाघरको जिम्मेवारी पुरातत्व विभागको भएको भन्दै पन्छिने गरेको छ । घण्टाघर संरक्षणका लागि न काठमाडौं महानगरपालिकाले ध्यान दिएको छ, न त पुरातत्व विभागले नै । सुन्दर सफा शहरको परिकल्पना साँचेर काडमाडौं शहरलाई सुन्दर बनाउन प्रयासरत् काठमार्डौ महानगरपालिका र देशका पुरातात्विक धरोहरहरुको जिम्मेवारी लिएको पुरातात्विक विभागले जुँगाको लडाई छाडेर शहरको केन्द्रमा रहेको यो धरोहरको तत्काल मर्मत सम्भार गरी पुनः यसलाई जिवन्त बनाउनु जरुरी छ ।