५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य जन्म जयन्ती मनाइयो


650
Shares

काठमाडौं । प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको १२२ औं जन्मजयन्तीको अवसरमा वरिष्ठ पत्रकार सुगतरत्न सिन्दुराकारलाई धर्मादित्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको आयोजनामा भएको समारोहमा करिब ३ दशकदेखि नेपालभाषाको माध्यमबाट पत्रकारिता गर्दै आएका सिन्दुराकारलाई पुरस्कृत गरिएको हो । १०० बर्ष अघि भारतको कोलकताबाट “बुद्धधर्म र नेपालभाषा” पत्रिका सम्पादन तथा प्रकाशन गर्नुभएका धर्माचार्यको यही पत्रिका मातृभाषा पत्रकारिताकै प्रथम पत्रिका हो ।

राणाकालीन त्यो समयमा नेपालभाषामा पत्रिका प्रकाशन गरेर मातृभाषा पत्रकारिताको विजारोपण गर्नुभएको धर्माचार्य बुद्ध जयन्तीको अवसरमा बुद्धप्रतिमासहित नगर परिक्रमा गर्ने परम्परा थाल्नले समाज सुधारक नेतृत्वदायी ब्यक्तित्वका रुपमा उल्लेख गरिन्छ ।

धर्माचार्यको जन्मजयन्ती अवसरमा ९ औं मातृभाषा पत्रकारिता दिवस मनाउँदै ललितपुर महानगरको पुल्चोकस्थित धर्मादित्यको प्रतिमामा माल्र्यापण गरी प्रभातफेरी पनि गरेको छ । बाजागाजासहित पुल्चोकबाट अघि बढेको ¥याली धर्मादित्य धर्माचार्यको जन्म स्थान सप्तपुृर महाविहार चिकंबहीमा पुगी सभामा परिणत भएको थियो ।

सभामा वक्ताहरुले महत्वपूर्ण योगदानको कदर एवं ब्यक्तित्वको पहिचानमा राज्य चुक्नु अनुचित भएकोप्रति ध्यानाकर्षण गराएका थिए । समारोहमा पत्रकार दबू ललितपुर शाखाको आयोजनामा भएको “आधारभूत पत्रकारिता तालिम”का प्रशिक्षकहरु पुष्करभक्त माथेमा, सुरेशकिरण मानन्धर, श्रीकृष्ण महर्जन, सुरजवीर बज्राचार्य लगायतलाई सम्मान गरिनुका साथै प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।