काठमाडौं । केन्द्रीय मानन्धर संघको ३३ र ३४ औं संयुक्त साधारणसभाले सुवर्ण मान मानन्धरलाई सभापति छनोट गरेको छ । काठमाडौंको थँहिटी मानन्धर गुठीका अध्यक्ष ८८ वर्षीय मानन्धरलाई दुई वर्षे कार्यकालका लागि सर्वसम्मत छनोट गरिएको हो ।
संघका सभापति बाहेक कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरू ४ वर्षका लागि निर्वाचित हुने वैधानिक व्यवस्था छ । कार्यक्रममा सभापतिको लागि निर्वाचन भएपनि संघका अन्य पदाधिकारीहरुको लागि आगामी अधिवेशनमा मात्र निर्वाचन हुनेछ ।
त्यस्तै, विभिन्न सांस्कृतिक गतिविधिलाई नेतृत्व दिन र नेपाल सरकारको गुठी संस्थान तथा अन्य प्रशासनिक निकायसँग समन्वय गर्न धालासिक्व मानन्धर सनाः खलःबाट न्हेसः नायः सदाबहार कार्यसमितिको पदाधिकारी रहने व्यवस्था छ । न्हेसः नायःको अर्थ तत्कालीन काठमाडौंका ७ सय मानन्धरहरूको लागि वंशको आधारले नियुक्ती पाउने सर्वसम्मत अध्यक्ष हुने व्यवस्था हो ।
नेपालभाषा मंका खलःको हलमा सम्पन्न भएको कार्यक्रममा बारा जिल्लाको प्रसौनी मानन्धर गुठीलाई प्रतिनिधित्व गरेर संघमा सभापति भएका मनोज कुमार मानन्धरको कार्यावधि सकिएकाले नयाँ सभापतिको लागि निर्वाचन भएको हो ।








प्रतिक्रिया दिनुहोस्