Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


नमुना शहर : फिदिम बजार


520
Shares

पाँचथर (जितेन्द्र भण्डारी) । पछिल्लो समय पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिम बजारको मुहार फेरिँदै गएको छ । उपत्यकाको झल्को दिने यो बजार सफा र सुन्दर बनेसँगै पछिल्लो समय फिदिम बजारले मुहार फेरेको हो । मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएको फिदिम नगरपालिकाको फिदिम बजार देशभरिका दशौं नमुना शहर मध्येको एक नमुना शहरको रुपमा परिचित छ ।

संघीय सरकारले फिदिम बजारको सडकलाई दुई लेन बनाएर फिदिम नगरपालिकाले सडक र बजारलाई व्यवस्थित गरेपछि अहिले फिदिम बजार धपक्कै बलेको छ । मेन रोडमा दुई लेनको सडक, सडकको बीचमा रोपिएको लहलहाउँदो धुपी, विभिन्न प्रजातिका फूलहरु, सडकको दुई पट्टी नाली, सडकको बीच भागमा स्ट्रेट लाईट, डिभाइडरको छेउछेउमा फिदिम बजार राजधानी उपत्यकाभन्दा कम छैन् । जो कोही नागरिक घुम्न आउँदा फिदिम बजार लोभिन्छन् । तिनै तहको सरकार, उद्योगी, व्यवसायी आम फिदिम बजारबासी लाग्नुपर्ने तथा नगरपालिकाले बनाएको गुरुयोजनाको कार्यान्वयनमा लाग्नुपर्ने पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरले बताउनुभयो ।

पहाडी जिल्ला पाँचथरमा पर्ने यो बजार चारैतिरबाट पहाडले घेरिएको पनि छ । फिदिम बजारबाट नजिक फाल्गुनन्दको तपोभुमि समाधिस्थल लब्रेकुटी, सिलौटी, शिवमन्दिर, सुम्मात्लुङ सिंहबाहिनी मन्दिरलगायत धार्मिक तिर्थस्थलसमेत रहेका छन् । फिदिम नगरपालिका, स्थानीयको सक्रियतामा हुने सरसफाइले पनि फिदिम बजार सफा र सुन्दर बनेको छ । फिदिम बजारलाई सुन्दर नगर बनाउन लागि रहेको र अब बजार मात्रै नभएर नगरभित्र पर्ने गाउँका बजारहरुलाई पनि व्यवस्थित गर्न नगरपालिका लागिरहेको फिदिम नगर प्रमुख मित्रप्रसाद काफलेले बताउनभयो ।

फिदिम नगर चक्रपथमा बाह्रै मास सवारी साधन संचालन हुने भएको छ । बजारको सुन्दरतासँगै विकासलेसमेत फड्को मार्दै गएको छ । भिडभाड हटाएर यसको सुन्दरतामा बढवा दिने काम भएको छ । बिचमा रहेको डिभाइडरमा विभिन्न रङ्गका फूल धुपीलगायत सडक बत्तीले राती त झन फिदिम बजार धपक्कै बल्दछ । फिदिम बजारमा सवारी साधनहरु पनि व्यवस्थित रुपमा पार्किङ गर्ने गरिएको छ । पार्किङलाई व्यवस्थित बनाउन ट्राफिक तथा नगर प्रहरी दिनरात खटिएको देख्न सकिन्छ । फिदिम बजारमा अहिले काम त भएको छ तर जति हुनुपर्ने हो, त्यो अनुसारको काम हुन नसकेको यसका लागि सरोकारवाला निकायहरु लाग्नुपर्ने स्थानीय तथा समाजसेवी प्रयागराज सुवेदीले बताउनुभयो ।

फिदिम नगर पालिकाले नगरपालिकाको सबै वडामा सुन्दरता बढाउनको लागि मदिरा तथा सुर्तिजन्य वस्तुको विज्ञापन बोर्ड हटाएको छ । साथै कुनै पनि खेलकुद तथा अन्य कार्यक्रममा मदिरा र सुर्तिजन्य पदार्थको बिज्ञापन गर्न निषेध गरिएको छ । नगरपालिकाको बजार क्षेत्रलाई सुन्दर बनाउन काम अगाडी बढाएको छ । नमूना शहरको रुपमा परिचित फिदिम बजारलाई थप व्यवस्थित बनाउन बनाएको गुरुयोजना कार्यान्वयन गर्दे फिदिम नगरपालिका,नयाँ शहर आयोजनाको कार्यालय, प्रदेश संघीय सरकार, आम फिदिमबासी सवै आआफनो तहबाट लाग्न जरुरी देखिन्छ ।