Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा


104
Shares

काठमाडौं । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पूरा भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसेज प्रालिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोको सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

एक्स्पो आगामी वैशाख १२, १३ र १४ गते भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुनेछ । वैशाख १२ गते बिहान साढे बजे विद्युतीय सवारी (इभी) ¥याली गर्दै एक्स्पोको सुरुवात हुने इप्पानले बताएको छ ।

वैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पोको उद्घाटन गर्ने कार्यतालिका तय भएको इप्पानका अध्यक्ष गणेश कार्कीले पत्रकारमा जानकारी दिनुभयो । उहाँले सरकारले लगानी सम्मेलनअघि थुप्रै नीतिहरु सुधार गर्ने प्रतिवद्धताअनुसार अध्यादेशबाट कानून पास गर्नुपर्ने बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रले अब देश बनाउने हो भनेर अघि बढ्नु भन्दा अर्को विकल्प नरहेको जिकिर गर्नुभयो । उहाँले आगामी लगानी सम्मेलनमा सरकारले उधारो खालका कुराहरु गर्नु नहुने बताउनुभयो ।

नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका बारेमा ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानका महासचिव बलराम खतिवडाले बताउनु भयो । एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताउनुभयो ।

विद्युतको आन्तरिक खपत वृद्धि गर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको इभी ¥याली स्काई वाक टावर कमलादीबाट सुरु भई विद्युत प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शितल निवास, बालुवाटर लगायतका मुख्य मुख्य स्थानहरुहुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना स्थल भृकुटीमण्डपमा समापन हुने आयोजकले जनाएको छ ।

र्‍यालीमा विद्युतबाट चल्ने दुई पाँग्रे, तीन पाँग्रे, चार पाँग्रे र छ पाँग्रे इभीहरुलाई निःशुल्क रुपमा सहभागी गराइने बताइएको छ । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना हुन लागेको एक्स्पोको पहिलो दिन इभी र्‍यालीका अलवा प्रदर्शनीस्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेस बैठक आयोजना हुने इप्पानले बताएको छ । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका सय भन्दा धेरै स्टलहरुको बुकिङ सम्पन्न भइसकेको आयोजकले बताएको छ ।