काठमाडौं । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक-सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काम अन्तिम चरणमा पुगेको छ ।
२०५२ सालदेखि विश्व सम्पदा सूचिमा सूचिकृत गराउने पहल भएपनि विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन । तर, पछिल्लो समय स्थानीय सरकारको पहलमा पनौतिलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन तिब्र तयारी गरिएको हो ।
पनौति नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौति क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने पहल भएपनि अहिलेसम्म सफल नभएको बताउनुभयो । उहाँले नगरपालिकाले अहिले पनौतिलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन अन्तिम तयारीमा लागेको बताउनुभयो ।
मेयर भण्डारीले युनेस्कोले दिएको मापदण्ड अधिकांश पूरा भइसकेकाले अब केही मापदण्ड पूरा गरेर पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाउने तयारी भइरहेको बताउनुभयो । उहाँले नगरपालिकाले अहिले संरक्षणका लागि व्यवस्थापकीय योजना निर्माण गरिरहेको बताउनुभयो । उहाँले व्यवस्थापन योजना बनाइसकेपछि पुरातत्व विभाग हुँदै युनेस्कोमा तयारी रहेको बताउनुभयो ।
मेयर भण्डारीले अबको दुई महिनाभित्रमा व्यवस्थापकीय योजना बनिसक्ने बताउनुभयो । व्यवस्थापकीय योजना बनाइसकेपछि युनेस्कोमा पहल गर्ने उहाँको भनाइ छ । कानूनहरु नबन्दा पनि कतिपय स्थानमा समस्या उत्पन्न भइरहेको उहाँको भनाइ छ ।
प्रमुख भण्डारीले सांस्कृतिक सम्पदाहरु सबैका साझा र देशको सम्पती हो भन्ने सोचेर काम अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरुले पनि जागरुकताका साथ कामलाई हेर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले कर्मचारीतन्त्रमा काम ढिलो गरिदिने समस्याले पहल गर्न ढिलो भइरहेको बताउनुभयो ।
यता, पनौति पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौति ऐतिहासिक पुरातात्विक महत्व बोकेको सम्पदाको शहर भएको बताउनुभयो । उहाँले पनौतिमा एक किलोमिटर क्षेत्रमा ४२ वटा मूर्त सम्पदा रहेको बताउनुभयो । मूर्त र अमूर्त गरी पनौतिमा मात्रै ७० बढी सम्पदाहरु रहेकाले यो शहर एउटा खुला संग्रहालय रहेको बताउनु भयो । उहाँले स्वर्गलोकको राजा इन्द्र श्राप मुक्तका लागि आएर तपस्या गरी मुक्त भएको र मकर मेला लागेको लगायतका सांस्कृतिक जात्राहरुले भरिपूर्ण रहेको बताउनु भयो ।
त्यस्तै, पनौतिस्थित इन्द्रेश्वर महादेवका पुजारी रमेशप्रसाद जंगमले पनौति शहर धेरै पुरानो शहर भएकाले विश्व सम्पदा सूचिमा सूचिकृत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले शहरमा रहेका आधुनिक ८० भन्दा बढी सम्पदाहरुलाई पुरानै शैलीमा निर्माण गरेर विश्व सम्पदा सूचिमा सूचिकृतका लागि पहल गर्नुपर्ने बताउनुभयो । उहाँले यसबारेमा स्थानीयलाई जनचेता दिन र जागरुक बनउन जरुरी रहेको बताउनुभयो । उहाँले पनौतिमा घुम्न जाने ९० प्रतिशत पर्यटक फ्रान्सका हुने गरेको बताउनुभयो ।
पनौतिलाई सरकारले प्राचिन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतिलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचिकृत गर्न प्रस्ताव गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्