
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले आगामी फागुनको अन्तिम साता विधान अधिवेशन गर्ने भएको छ ।
सोसाईटीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
नेपालको संविधान, अन्तर्राट्रिय आधारभुत मापदण्ड र राष्ट्रिय आवश्यकताका आधारमा विधान संशोधनका लागि आगामी फागुन २७ र २८ गते विधान अधिवेशन गर्ने कार्यसूचि तय गरिएको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले बताउनुभयो ।
त्यसका लागि सोसाइटीले मस्यौदा तयारी पारी मातहतका प्रदेश, जिल्ला र उपशाखास्तरमा सुझाव संकलनका लागि पठाइसकिएको पनि उहाँले बताउनुभयो । त्यसैगरी रेडक्रसले विभिन्न जिल्लामा रहेका आफ्ना सम्पतीहरूको व्यवस्थापन तथा उच्चतम प्रयोग गरी आय वृद्धि गर्दै मानवीय सहायताका क्षेत्रमा उपयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ । महामन्त्री श्रेष्ठले रेडक्रसको कानून निर्माणको काममा पनि ढिलाई नगर्ने बताउनुभयो ।
रेडक्रसले मानवीय सहायताको कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकार सबै तह, रेडक्रस अभियानका अंगहरु र साझेदारहरुसँगको सहयोग र साझेदारी अभिवृद्धि गर्ने कुरामा पनि जोड दिने कार्ययोजना तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्