Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


‘स्वच्छ उर्जाको आदानप्रदानबाट दक्षिण एशियामा जलवायु परिवर्तनको असर कम गर्न सकिन्छ’


52
Shares

काठमाडौं । स्वच्छ उर्जाको आदान-प्रदानले दक्षिण एशियामा जलवायु परिवर्तनको असर कम गर्न सकिने सरोकारवालाहरुले बताएका छन् ।

आइतबार काठमाडौंमा भएको दक्षिण एशियाका सांसदहरुबीच जलवायु परिवर्तन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरुले विश्वमा जलवायु परिवर्तनका कारण परेको असर दक्षिण एशियाका मुलुकहरुले नै भोगिरहेको बताए ।

जलवायु परिवर्तन न्युनिकरण प्राकृतिक स्रोतहरुको माध्यमबाट गर्न आवश्यक रहेको सरोकारवालाहरुको ठम्याई छ । उनीहरुले जलवायु परिवर्तनको असर न्युनिकरण गर्नको लागि उत्सर्जन कम गर्न नेपाल लगायतका देशमा उत्पादन भएको जलविद्युतलाई आदानप्रदान गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै उर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर दक्षिण एशियाको ग्रिन उर्जा, पिउने पानी लगायतका क्षेत्रमा देखिएको बताउनुभयो । उहाँले दक्षिण एशियाका देशहरुमा नेपालमा विद्युत उत्पादन गरेर विद्युत व्यापारको माध्यमबाट जलवायु परिवर्तनको असर न्युनिकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री बस्नेतले जलवायु परिवर्तनले पारेको असर न्युनिकरण र अनुकुलन भन्दा पनि नेपालले जलवायु परिवर्तनबाट न्याय पाउन आवश्यक रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनबाट हुने प्रदुषण उत्सर्जन नेपालबाट कम रहेको तर जलवायु परिवर्तनले पारेको प्रभावमा नेपाल अग्रस्थानमा रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै विकास तथा प्रविधि समिति सभापति दीपकबहादुर सिंहले सार्क देशहरु विभिन्न वातावरणीय चुनौतिहरु सामना गरिरहेको बताउनुभयो । उहाँले विश्वको २५ प्रतिशत जनसंख्याको घर रहेको दक्षिण एशिया क्षेत्र आर्थिक विकासको मामिलामा पछाडि रहेको बताउनुभयो ।

सभापति सिंहले विश्वमा जलवायु परिवर्तनको असरबाट उच्च जोखिममा दक्षिण एशियाली मुलुकहरु रहेको बताउनुभयो । उहाँले विकसित देशहरुको समृद्धिको मूल्य नेपाल जस्ता मुलुकले भोग्नु दुखद् पक्ष भएको बताउनुभयो । सभापति सिंहले जलवायु परिवर्तनको कारण उत्पन्न भइरहेका समस्या सामना गर्न र क्षति न्युनिकरण गर्न सहयोग गर्नु विकसित देशहरुको जिम्मेवारी र दायित्व भएको बताउनुभयो ।

सभापति सिंहले दक्षिण एशियाका देशहरुबीच व्यापार सहकार्य विश्वका अन्य देशहरुसँग हुने व्यापार तुलनामा अत्यन्तै कमजोर रहेको पनि बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असर न्युनिकरणको लागि विद्युत व्यापार आदानप्रदान गर्ने विषयमा भारतले नेतृत्व गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले दक्षिण एशियाका मुलुकहरुमा उत्पादन हुने उर्जा आवश्यकताअनुसार कुनैपनि मुलुकहरुले निर्वाध रुपमा प्रयोग गर्ने वातावरण बनाइ दक्षिण एशियालीमा उर्जा सहकार्यको मुख्य उद्देश्य बन्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सांसद ठाकुरप्रसाद गैरेले नेपालले विद्युत विकासको दीर्घकालिन मार्गचित्र बनाइरहेको बताउनुभयो । उहाँले सन् २०३० सम्ममा २९ हजार मेगावाट विद्युत उत्पादन गर्ने, १५ हजार आन्तरिक खपत गर्ने र १४ हजार मेगावाट विद्युत व्यापार गर्ने लक्ष्य लिएकाले नेपालका उत्पादन भएको विद्युत दक्षिण एशियाका मुलुकहरुले प्रयोग गरी उत्सर्जन कम गर्न आवश्यक रहेको बताउनुभयो ।

सांसद गैरेले भारतसँग १० हजार र बंलादेशसँग पनि विद्युत व्यापारको सम्झौता भएको भन्दै यसमा भारतको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले दक्षिण एशियाली देशहरु भूराजनीतिका प्रभावहरुबाट मुक्त भएर आपसी हित र सहकार्यलाई मजबुत बनाएर जानु पर्नेमा जोड दिनुभयो । उहाँले जलवायु परिर्वतनको असरबाट मानव जीवनको रक्षाका लागि क्षेत्रिय देशहरुको सहकार्य र सबै देशहरु बीचको एकतावद्ध पहल कदमी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै सांसद प्रदीप पौडेलले नेपालको विद्युतीय व्यापार महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपालले क्षेत्रिय स्तरमा उर्जाको विकास गर्दै उर्जाको दिगो विकासमा काम गरी दक्षिण एशियाली मुलुकमा समेत व्यापार विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा जलवायु परिवर्तनले नदि प्रणालीमा असर पारिरहेको भन्दै यसलाई क्षेत्रिय सहयोगको माध्यमबाट सम्बोधन गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सांसद पौडेलले नेपालले उत्पादन गर्ने विद्युतलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने दायित्व पनि दक्षिण एशियाली मुलुकको भएको बताउनुभयो । उहाँले नेपालको उर्जा क्षेत्र विकासको २०३०को मार्गचित्रले विद्युत व्यापारमा वृद्धि हुने अपेक्षा रहेको बताउनुभयो । सांसद पौडेलले विद्युत व्यापार सरकारले मात्रै गरेर नहुने भन्दै निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्ने बताउनुभयो । उहाँले विद्युत विकास सम्बन्धि पूर्वाधारहरु निर्माण गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपालको जलस्रोतबाट दक्षिण एशियामा योगदान गर्ने बताउनुभयो । उहाँले जलविद्युतमा क्षेत्रिय सहयोगका हिसाबले नेपालले प्रभावकारी भुमिका खेलिरहेको बताउनुभयो ।

सांसद सापकोटाले बंलादेश, भूटान भारत र नेपालबीचको ट्रान्समिसन लाइन जतिसुकै बेलामा सञ्चालन हुने प्रकारको पूर्वाधारको ग्यारेन्टी गरी यो क्षेत्रको जलवायु परिवर्तनको न्युनिकरण गर्न सकिने उल्लेख गर्नुभयो ।